मैलुङ खोला जलविद्युतले हकप्रद सेयर निष्काशन गर्ने, बोलायो साधारण सभा
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ। पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ३७ करोड ६३ लाख १९ हजार ८०० रुपैयाँको आधारमा उक्त अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले व्यवसायिक कारोबार सञ्चालनका क्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमध्ये भुक्तानी गर्न बाँकी रहेको रकम चुक्ता गर्ने प्रयोजनका लागि हकप्रद सेयर निष्काशन गर्न लागिएको जानकारी दिएको छ।
प्रस्तावित हकप्रद सेयर पारित गर्न कम्पनीले पुस २८ गते १२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा दिउँसो १२ः३० बजे सुरु हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।





