नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने आशयको सूचना दिनुपर्ने व्यवस्थामा संशोधन गरेको छ। बोर्डले असोज २३ गते जारी गरेको निर्देशनअनुसार अब प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का बेला कायम रहेका आधारभूत सेयरधनीले लकइन अवधि समाप्त भएपछि आफ्नो स्वामित्वको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्नेछ।
यसअघि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था थियो। संशोधित व्यवस्थाअनुसार कम्पनीले बिक्रीसम्बन्धी सूचना प्राप्त गरेपछि यथाशीघ्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्नेछ। यस्तो सूचनाको वैधता तीन महिना कायम रहनेछ।
सेबोनले सेयर बिक्रीको सूचना दिए पनि सबै सेयर बिक्री नगरेका वा बिक्री गर्न बाँकी रहेका सेयरधनीले पुनः सोही कम्पनीको सेयर खरिद गरेमा कारोबार सम्पन्न भएपछि खरिदसम्बन्धी विवरण सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि थप गरेको छ।
त्यस्तो विवरणमा सेयरको मूल्य र परिमाण उल्लेख गर्नुपर्नेछ। सम्बन्धित कम्पनीले खरिदसम्बन्धी जानकारी प्राप्त गरेपछि यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ।


प्रतिकृया