नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभाले पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांशसमेत पारित गरेको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्ने जनाइएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा सात अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सो अवधिमा बैंकको निक्षेप १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी १२.१५ प्रतिशतले वृद्धि भएर चार खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंकको वासलातको आकार १५.३८ प्रतिशतले बढेर सात खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। बैंकले स्थापना हुँदाको तुलनामा आफ्नो चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको पनि जनाएको छ।
साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।
सभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि, बैंकिङ सेवाको आधुनिकीकरण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको बताए। बैंकले डिजिटल बैंकिङ सेवा विस्तार गर्न एनबैंक सञ्चालनमा ल्याएको र सन् २०३० सम्म एआई रेडी बैंक बन्ने लक्ष्य राखेको जनाएको छ।
नबिल बैंकले देशभरका २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिकृया