काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकालीलाई खाद्य स्वच्छतासम्बन्धी गम्भीर कैफियत भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। खानामा किरा परेको भन्दै उपभोक्ताबाट उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले अनुगमन गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार २०८३ असोज २४ गते प्राप्त उजुरीपछि विभागको र्यापिड रेस्पोन्स टिम (आरआरटी) ले काठमाडौं महानगरपालिका–३, महाराजगञ्जस्थित ग्रिन तारा हस्पिटालिटी प्रालि अर्थात् मन्त्र थकालीमा तत्काल अनुगमन गरेको थियो।
अनुगमनका क्रममा भान्साको सरसफाइ सन्तोषजनक नभएको, पकाइएका खाद्य पदार्थ नछोपी भण्डारण गरिएको तथा फ्रिज र भान्सामा साङ्ला र भुसुनाजस्ता कीरा देखिएको पाइएको विभागले जनाएको छ। त्यस्तै, भान्साको ड्रेनेज सफा नभएको, फ्रिजमा खाद्य वस्तु अव्यवस्थित रूपमा राखिएको र डस्टबिन खुला तथा फोहोर अवस्थामा रहेको भेटिएको थियो।
टोलीले फ्राइड आलु पत्रिकामा राखिएको समेत फेला पारेको थियो। खाद्य स्वच्छतामा गम्भीर कैफियत देखिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम व्यवसायलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागको विवरणमा उल्लेख छ। पत्रिकामा राखिएको करिब एक किलो फ्राइड आलु नष्ट गरिएको छ।
विभागले पकाइएका खाद्य पदार्थ राम्ररी छोपेर राख्न, कीरा नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन, भान्सा र फ्रिजको सरसफाइ तथा भण्डारण व्यवस्थित गर्न र खाद्य पदार्थ राख्न पत्रिकाजस्ता सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ।
अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गरी त्यसको प्रमाणसहित सात दिनभित्र विभागमा उपस्थित हुन पनि व्यवसायलाई निर्देशन दिइएको छ। तोकिएको निर्देशन पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही हुने विभागले जनाएको छ।

प्रतिकृया