Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]

Advertisement Ads

सेयर बजारमा सही समयमा खरिद तथा बिक्रीको निर्णय लिन प्राविधिक विश्लेषण (Technical Analysis) महत्वपूर्ण मानिन्छ। यसमा क्यान्डलस्टिक प्याटर्नसँगै विभिन्न इन्डिकेटरको प्रयोग गरिन्छ। तर इन्डिकेटरले दिने संकेतलाई मात्र आधार बनाएर कारोबार गर्दा गलत निर्णय हुने जोखिम रहन्छ। त्यसैले बजारको ट्रेन्ड, मूल्यको चाल र मोमेन्टमलाई एकसाथ विश्लेषण गर्न आवश्यक हुन्छ।

‘बजारको चिरफार’ को प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण शृङ्खलामा यसपटक इन्डिकेटरको आधारभूत अवधारणा, मुभिङ एभरेज, यसको क्रसओभर र मोमेन्टम इन्डिकेटरअन्तर्गत रेट अफ चेन्ज (आरओसी) को प्रयोगबारे चर्चा गरिएको छ। अशोक शाह सरसँगको सहकार्यमा सञ्चालन भइरहेको प्रशिक्षणमा इन्डिकेटरलाई कसरी बुझ्ने र कारोबारसम्बन्धी निर्णयमा यसको प्रयोग कसरी गर्ने भन्ने विषय समेटिएको छ।

इन्डिकेटर भनेको के हो?

प्राविधिक विश्लेषणमा इन्डिकेटरले बजारको मूल्य परिवर्तन, ट्रेन्ड र त्यसको गति तथा शक्तिबारे जानकारी दिन्छ। यसलाई बजारको दिशा निर्धारण गर्ने मुख्य आधारभन्दा पनि मूल्यको चाललाई थप स्पष्ट रूपमा बुझ्न सहयोग गर्ने उपकरणका रूपमा लिनुपर्छ।

प्रशिक्षणमा इन्डिकेटरको भूमिका बुझाउन हात्ती र पुच्छरको उदाहरण दिइएको छ। मूल्यलाई हात्ती र इन्डिकेटरलाई पुच्छरका रूपमा बुझ्न सकिन्छ। हात्तीले पुच्छर हल्लाउँछ, पुच्छरले हात्ती हल्लाउँदैन। त्यसैगरी, मूल्यको परिवर्तनका आधारमा इन्डिकेटरले संकेत दिन्छ।

Advertisement Ads

मूल्य बढ्दा इन्डिकेटरमा पनि बढ्दो संकेत देखिन सक्छ भने मूल्य घट्दा घट्दो संकेत देखिन सक्छ। तर इन्डिकेटरमा खरिद संकेत देखिँदैमा बजार अनिवार्य रूपमा बढ्छ वा बिक्री संकेत देखिँदैमा घट्छ भन्ने हुँदैन। क्यान्डलस्टिक प्याटर्नले एक वा केही क्यान्डलका आधारमा सम्भावित मूल्य परिवर्तनको संकेत दिन सक्छ भने धेरै इन्डिकेटरले पछिल्ला अवधिको मूल्य तथ्यांक गणना गरेर संकेत दिने भएकाले तिनमा केही ढिलाइ हुन सक्छ।

ट्रेन्डलाई प्राथमिकता दिनुपर्छ

प्राविधिक विश्लेषणमा बजार बढ्दो, घट्दो वा साइडवेज अवस्थामा छ भन्ने पहिचान गर्नु महत्वपूर्ण हुन्छ। बजारको अवस्था नबुझी इन्डिकेटरको संकेतलाई मात्र आधार बनाउँदा गलत कारोबार हुने सम्भावना बढ्छ।

बुलिस ट्रेन्ड अर्थात् बढ्दो बजारमा खरिद संकेत दिने इन्डिकेटरले तुलनात्मक रूपमा राम्रो काम गर्न सक्छ। त्यसैगरी, बियरिस ट्रेन्ड अर्थात् घट्दो बजारमा बिक्री संकेतलाई प्राथमिकता दिन सकिन्छ। तर साइडवेज बजारमा मूल्य निश्चित दिशामा अघि बढिरहेको हुँदैन। यस्तो अवस्थामा इन्डिकेटरले पटक-पटक खरिद तथा बिक्रीका संकेत दिन सक्छ, जसले अनावश्यक कारोबार र लागत बढाउन सक्छ।

त्यसैले प्राविधिक विश्लेषणमा प्रचलित भनाइ ‘Trend is your friend until it ends’ अर्थात् स्पष्ट रूपमा ट्रेन्ड परिवर्तन भएको संकेत नदेखिएसम्म विद्यमान ट्रेन्डलाई प्राथमिकता दिनुपर्छ भन्ने अवधारणालाई महत्वपूर्ण मानिन्छ।

मुभिङ एभरेजबाट ट्रेन्ड पहिचान

मुभिङ एभरेज (Moving Average) ट्रेन्ड पहिचान गर्न प्रयोग गरिने आधारभूत इन्डिकेटर हो। यसले निश्चित अवधिका मूल्यको औसत निकालेर बजारको समग्र दिशा बुझ्न सहयोग गर्छ। सामान्यतया छोटो अवधिको ट्रेन्ड अध्ययन गर्न २० अवधिको, मध्यम अवधिका लागि ५० अवधिको र लामो अवधिका लागि २०० अवधिको मुभिङ एभरेज प्रयोग गर्ने चलन छ। यद्यपि, यी अवधि निश्चित नियम होइनन्। कारोबार शैली र चार्टको टाइमफ्रेमअनुसार फरक अवधि पनि प्रयोग गर्न सकिन्छ।

मूल्य मुभिङ एभरेजभन्दा माथि रहेको र यसको रेखा माथितिर ढल्किएको छ भने बजारमा बढ्दो चाल रहेको संकेत हुन सक्छ। मूल्य मुभिङ एभरेजभन्दा तल रहेको र रेखा तलतिर ढल्किएको छ भने घट्दो चाल सक्रिय रहेको संकेत मिल्न सक्छ। त्यस्तै, मुभिङ एभरेजको रेखा लगभग समतल छ र मूल्य पटक-पटक त्यसको माथि तथा तल गइरहेको छ भने बजार साइडवेज अवस्थामा रहेको हुन सक्छ।

मुभिङ एभरेजका प्रमुख प्रकार सिम्पल मुभिङ एभरेज (SMA) र एक्सपोनेन्सियल मुभिङ एभरेज (EMA) हुन्। एसएमएले छनोट गरिएको अवधिभित्रका मूल्यलाई समान भार दिएर औसत निकाल्छ। यसको विपरीत, ईएमएले पछिल्लो मूल्यलाई बढी भार दिने भएकाले मूल्यमा आएको परिवर्तनप्रति तुलनात्मक रूपमा छिटो प्रतिक्रिया दिन सक्छ। तर छिटो प्रतिक्रिया दिने ईएमएले गलत संकेत पनि दिन सक्ने भएकाले कुन प्रकार उपयुक्त हुन्छ भन्ने कुरा बजारको अवस्था र कारोबार रणनीतिमा निर्भर गर्छ।

मुभिङ एभरेज क्रसओभरबाट खरिद तथा बिक्री संकेत

मुभिङ एभरेजलाई ट्रेन्ड पहिचान गर्न मात्र नभई सम्भावित खरिद तथा बिक्री अवसर पत्ता लगाउन पनि प्रयोग गर्न सकिन्छ। यसका लागि छोटो र लामो अवधिका दुईवटा मुभिङ एभरेजलाई एउटै चार्टमा राखिन्छ।

उदाहरणका लागि, १३ अवधिको ईएमए र २१ अवधिको ईएमए प्रयोग गर्न सकिन्छ। छोटो अवधिको मुभिङ एभरेजले लामो अवधिको मुभिङ एभरेजलाई तलबाट माथितिर काट्दा सम्भावित खरिद संकेत देखिन सक्छ। त्यसैगरी, छोटो अवधिको मुभिङ एभरेजले लामो अवधिको मुभिङ एभरेजलाई माथिबाट तलतिर काट्दा सम्भावित बिक्री संकेत देखिन सक्छ।

तर क्रसओभर देखिएकै आधारमा कारोबार गर्नु उचित हुँदैन। बजारको समग्र ट्रेन्ड पनि अध्ययन गर्नुपर्छ। विशेषगरी साइडवेज बजारमा मुभिङ एभरेजको क्रसओभर बारम्बार हुन सक्छ, जसले पटक-पटक खरिद तथा बिक्री गर्दा कारोबार खर्च र घाटाको जोखिम बढाउन सक्छ।

मुभिङ एभरेज च्यानलको प्रयोग

मुभिङ एभरेज च्यानल मूल्यको चाल अध्ययन गर्न प्रयोग गरिने अर्को उपकरण हो। यसमा निश्चित अवधिका उच्च र न्यून मूल्यका आधारमा माथिल्लो तथा तल्लो रेखा बनाइन्छ। यसको प्रयोगबाट मूल्य आफ्नो सामान्य दायराभन्दा माथि वा तल गएको अवस्था पहिचान गर्न सकिन्छ।

मूल्य च्यानलभन्दा माथि जाँदा बढ्दो चालको सम्भावित संकेत देखिन सक्छ भने च्यानलभन्दा तल जाँदा घट्दो चालको सम्भावना रहन्छ। तर मूल्य च्यानलभन्दा बाहिर निस्कनु मात्रै ट्रेन्ड परिवर्तनको पर्याप्त प्रमाण होइन। त्यसैले समग्र ट्रेन्ड, मूल्यको संरचना र अन्य प्राविधिक संकेतसँग मिलाएर विश्लेषण गर्नुपर्छ।

प्रशिक्षणमा कोभिडपछिको नेप्सेको मूल्य चाललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ट्रेन्ड स्थापित भएपछि च्यानलको सहायताले सम्भावित खरिद अवसर पहिचान गर्न सकिने विषयमा चर्चा गरिएको छ।

मोमेन्टम इन्डिकेटर र आरओसीको प्रयोग

मोमेन्टम इन्डिकेटर (Momentum Indicator) ले मूल्य कुन दिशामा परिवर्तन भइरहेको छ र त्यस परिवर्तनको गति कति बलियो वा कमजोर छ भन्ने बुझ्न सहयोग गर्छ। मूल्य बढ्दो दिशामा अघि बढिरहेको अवस्थालाई बुलिस मोमेन्टम र घट्दो दिशामा अघि बढिरहेको अवस्थालाई बियरिस मोमेन्टम भनिन्छ। मूल्य बढिरहेको भए पनि त्यसको गति कमजोर हुन सक्छ। त्यसैगरी, मूल्य घटिरहेको अवस्थामा घट्ने गति कमजोर हुन सक्छ।

रेट अफ चेन्ज (Rate of Change–ROC) मोमेन्टम मापन गर्न प्रयोग गरिने इन्डिकेटर हो। यसले हालको समापन मूल्यलाई निश्चित अवधिअघिको समापन मूल्यसँग तुलना गरी मूल्यमा भएको प्रतिशत परिवर्तन देखाउँछ। आरओसीको शून्य रेखालाई यसको केन्द्ररेखाका रूपमा लिइन्छ।

आरओसी शून्य रेखाभन्दा माथि छ भने हालको मूल्य छनोट गरिएको अवधिअघिको मूल्यभन्दा बढी रहेको र सकारात्मक मोमेन्टम रहेको संकेत गर्छ। शून्य रेखाभन्दा तल छ भने हालको मूल्य अघिल्लो तुलनात्मक अवधिको मूल्यभन्दा कम रहेको र नकारात्मक मोमेन्टम रहेको बुझ्न सकिन्छ।

आरओसीको रेखा माथितिर ढल्किएको छ भने मोमेन्टम बढिरहेको हुन सक्छ भने तलतिर ढल्किएको छ भने मोमेन्टम कमजोर हुँदै गएको हुन सक्छ। उदाहरणका लागि, आरओसी शून्य रेखाभन्दा माथि रहे पनि तलतिर झरिरहेको छ भने सकारात्मक मोमेन्टम कमजोर हुँदै गएको हुन सक्छ। त्यसैगरी, शून्य रेखाभन्दा तल रहे पनि माथितिर उक्लिरहेको छ भने नकारात्मक मोमेन्टम कमजोर हुँदै गएको हुन सक्छ।

बजार बुलिस ट्रेन्डमा रहेको अवस्थामा आरओसी शून्य रेखाभन्दा तलबाट पुनः माथि जानुलाई सम्भावित खरिद अवसरका रूपमा अध्ययन गर्न सकिन्छ। बियरिस ट्रेन्डमा आरओसी शून्य रेखाभन्दा माथिबाट तल झर्नुलाई सम्भावित बिक्री संकेतका रूपमा हेर्न सकिन्छ। यद्यपि, यी संकेतले कारोबार सफल हुने ग्यारेन्टी गर्दैनन्। मूल्यको संरचना, सपोर्ट तथा रेजिस्टेन्स र जोखिम व्यवस्थापनलाई पनि ध्यान दिनुपर्छ।

कारोबारमा मनोविज्ञानको भूमिका

प्राविधिक विश्लेषणसँगै लगानीकर्ताको मनोविज्ञान पनि कारोबारको महत्वपूर्ण पक्ष हो। प्रशिक्षणमा कारोबारका क्रममा देखिने फोमो (FOMO), फोलो (FOLO) र जोमो (JOMO) जस्ता मनोवैज्ञानिक अवस्थाबारे चर्चा गरिएको छ।

फोमो भनेको बजार बढ्न थालेपछि अवसर छुट्ने डरले उच्च मूल्यमा सेयर खरिद गर्न हतारिनु हो। अरूले नाफा कमाइरहेको देखेर वा सामाजिक सञ्जालमा कुनै कम्पनीको चर्चा बढेको आधारमा हतारमा निर्णय गर्दा जोखिम बढ्न सक्छ। फोलोले नाफामा रहेको कारोबारमा प्राप्त नाफा गुम्ने डरले समयअगावै बिक्री गर्ने प्रवृत्तिलाई जनाउँछ। बजारको उतारचढावबाट डराएर आफ्नो रणनीतिले तय गरेको समयभन्दा पहिले नै बाहिरिँदा सम्भावित थप नाफा छुट्न सक्छ।

त्यस्तै, जोमो भनेको अवसर छुट्दा पनि अनावश्यक रूपमा आत्तिनुको सट्टा आफ्नो रणनीतिअनुसार सही अवसरको प्रतीक्षा गर्नु हो। बजारको हरेक उतारचढावमा कारोबार गर्नुभन्दा स्पष्ट संकेत र उपयुक्त अवसर पर्खनु यसको मुख्य पक्ष हो। यी मनोवैज्ञानिक अवस्थालाई बुझ्नुको उद्देश्य भावनाका आधारमा नभई स्पष्ट नियम र रणनीतिअनुसार कारोबार गर्ने बानी विकास गर्नु हो।

वस्तुपरक रणनीतिअनुसार कारोबार गर्नुपर्ने

सेयर बजारमा मूल्य बढ्छ वा घट्छ भन्ने व्यक्तिगत अनुमानका आधारमा मात्रै निर्णय लिनु जोखिमपूर्ण हुन्छ। त्यसको सट्टा निश्चित नियम, रणनीति र जोखिम व्यवस्थापनका आधारमा कारोबार गर्नु उपयुक्त हुन्छ। यसलाई वस्तुपरक कारोबार (Objective Trading) का रूपमा बुझ्न सकिन्छ। यसमा कारोबार गर्ने वा नगर्ने निर्णय व्यक्तिगत भावना वा अनुमानमा नभई पहिले नै तय गरिएको रणनीतिअनुसार लिइन्छ।

प्राविधिक विश्लेषण गर्दा कम्पनीको मूल्यसम्बन्धी ऐतिहासिक तथ्यांक, कारोबार गतिविधि र तरलताजस्ता पक्षमा पनि ध्यान दिन आवश्यक हुन्छ। सबै कम्पनीमा एउटै इन्डिकेटरले समान रूपमा काम गर्छ भन्ने हुँदैन।

‘बजारको चिरफार’ को प्रशिक्षण शृङ्खलामा यसपटक मुभिङ एभरेज र आरओसीको आधारभूत प्रयोगबारे चर्चा गरिएको छ। आगामी एपिसोडमा रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (RSI), मुभिङ एभरेज कन्भर्जेन्स एन्ड डाइभर्जेन्स (MACD) र स्टोकास्टिकजस्ता प्रचलित इन्डिकेटरबारे थप जानकारी दिइने बताइएको छ।

प्रशिक्षणको मुख्य सन्देश इन्डिकेटरलाई जादुको छडीका रूपमा नलिई बजारको ट्रेन्ड र मूल्यको चाल बुझ्ने सहायक उपकरणका रूपमा प्रयोग गर्नुपर्छ भन्ने हो। मुभिङ एभरेज होस् वा मोमेन्टम इन्डिकेटर, त्यसको संकेतलाई समग्र बजारको अवस्थासँग मिलाएर अध्ययन गर्दा कारोबारसम्बन्धी निर्णयलाई व्यवस्थित बनाउन सहयोग पुग्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स