नेपालमा आजदेखि १०, १५, २०, २५ र ३० Mbps का कम स्पिड तथा सस्ता इन्टरनेट प्याकेज बन्द भएका छन्। इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (इस्पान) ले आज असोज १९ गतेदेखि यस्ता प्याकेजको बिक्री तथा वितरण रोक्ने निर्णय गरेको हो।
इस्पानका अनुसार बढ्दो सञ्चालन खर्च, फाइबर तथा उपकरणको मूल्यवृद्धि, इन्धनको महँगी र मुद्रास्फीतिका कारण पुरानै न्यून मूल्यमा सेवा दिन कठिन भएको हो। एआई प्रविधिको विस्तारसँगै इलेक्ट्रोनिक्स तथा चिपसेटको मूल्य बढ्दा इन्टरनेट सेवा प्रदायकको लागत थप बढेको संस्थाले जनाएको छ।
यसअघि मासिक ५०० देखि ७०० रुपैयाँसम्म मा उपलब्ध हुँदै आएका १० देखि ३० Mbps सम्मका बजेट तथा प्रमोसनल प्याकेजलाई कम स्पिडको श्रेणीमा राखिएको थियो।
अब सहरी तथा घरायसी FTTH प्रयोगकर्ताका लागि न्यूनतम आधारभूत इन्टरनेट स्पिड ५० Mbps वा १०० Mbps बाट सुरु हुने बताइएको छ। यसले थोरै इन्टरनेट खपत गर्ने तथा न्यून आय भएका उपभोक्तामा प्रत्यक्ष असर पर्नेछ।
इस्पानले आफ्ना सदस्य सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट मात्र आधिकारिक वेबसाइटमा स्पष्ट रूपमा राख्न निर्देशन दिएको छ। साथै, ग्राहकलाई इन्टरनेट सेवाको भुक्तानी गर्दा अनिवार्य रूपमा VAT बिल लिन आग्रह गरेको छ।

प्रतिकृया