बजारको चिरफार Evening Walk: सेयर बजारमा के–के भयो ?

बजारको चिरफार Evening Walk: सेयर बजारमा के–के भयो ?
Advertisement Ads

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।

आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।

Advertisement Ads


आज सेयरबजारमा के भयो?

असोज २३ गते शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २,५९१.८० विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ४ अर्ब ८३ करोड बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य बढेको, ८९ कम्पनीको सेयर मूल्य घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।



लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै रिलायन्स स्पिनिङ मिल्सको साधारणसभा सम्पन्न

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंमा सम्पन्न कम्पनीको साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको हो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। उक्त रकममा प्रचलित कानुनअनुसार लाग्ने करसमेत समावेश छ। सभाले वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय विवरण पनि पारित गरेको छ।

साधारणसभाले व्यवसाय विस्तारसम्बन्धी योजना पनि स्वीकृत गरेको छ। योजनाअनुसार कम्पनीले अल्लो, हेम्प र केराजस्ता प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्नुका साथै कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाई गर्ने उद्योग स्थापना गर्नेछ।

सभाले सञ्चालक समितिको संरचना परिवर्तन गर्दै संस्थापक सेयरधनी समूहबाट चार जना, सर्वसाधारण शेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालकसहित कुल ६ सदस्यीय समिति रहने व्यवस्था गरेको छ।

संस्थापक समूहबाट पवन कुमार गोल्याण, शशी कान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत निर्वाचित भएका छन्। सर्वसाधारण समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन् भने स्वतन्त्र सञ्चालकमा वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीको नियुक्ति अनुमोदन भएको छ।



मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको ३३८औँ बैठकले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँ ८० पैसाका आधारमा प्रस्तावित पाँच प्रतिशत बोनस सेयरको रकम ६ करोड ७५ लाख ७७ हजार ६४२ रुपैयाँ ४४ पैसा रहेको छ।

त्यस्तै, १५ प्रतिशत नगद लाभांशबापत २० करोड २७ लाख ३२ हजार ९२७ रुपैयाँ ३२ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ। उक्त नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।



लाभांश प्रस्ताव पारित गर्दै नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न

नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभाले पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांशसमेत पारित गरेको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्ने जनाइएको छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा सात अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सो अवधिमा बैंकको निक्षेप १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी १२.१५ प्रतिशतले वृद्धि भएर चार खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको वासलातको आकार १५.३८ प्रतिशतले बढेर सात खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। बैंकले स्थापना हुँदाको तुलनामा आफ्नो चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको पनि जनाएको छ।

साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।

सभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि, बैंकिङ सेवाको आधुनिकीकरण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको बताए। बैंकले डिजिटल बैंकिङ सेवा विस्तार गर्न एनबैंक सञ्चालनमा ल्याएको र सन् २०३० सम्म एआई रेडी बैंक बन्ने लक्ष्य राखेको जनाएको छ।

नबिल बैंकले देशभरका २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।



आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।

भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स