उधारो सेयर कारोबार बन्द हुँदै; अब कि १००% नगद नत्र ‘मार्जिन ट्रेडिङ्ग’

उधारो सेयर कारोबार बन्द हुँदै; अब कि १००% नगद नत्र ‘मार्जिन ट्रेडिङ्ग’
Advertisement Ads

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अब सेयर कारोबारलाई कि शतप्रतिशत नगदमा आधारित बनाउने वा मार्जिन कारोबारमार्फत अघि बढाउने गरी व्यवस्था गर्न लागिएको संकेत गरेका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले हाल कायम रहेको २५ प्रतिशत नगद जम्मा गरेर सेयर खरिद गर्ने र बाँकी रकम दोस्रो कार्यदिनभित्र भुक्तानी गर्ने (टी प्लस टु) को व्यवस्थामा छिट्टै परिवर्तन हुन सक्ने संकेत गरेका हुन् ।

हालको व्यवस्थाअनुसार लगानीकर्ताले सेयर खरिद गर्नुअघि ब्रोकरको खातामा खरिद रकमको २५ प्रतिशत नगद जम्मा गर्नुपर्छ । त्यसपछि ब्रोकरले लगानीकर्तालाई उपलब्ध गराएको सीमाभित्र रहेर सेयर खरिद गर्न सकिन्छ । लगानीकर्ताले खरिद गरेको सेयरको बाँकी रकम भने दुई कार्यदिनभित्र भुक्तानी गर्नुपर्छ । तर अब लगानीकर्ताले कि शतप्रतिशत रकम जम्मा गरेर सेयर खरिद गर्नुपर्ने वा नियामकीय व्यवस्थाअनुसार मार्जिन कारोबार सुविधा प्रयोग गर्नुपर्ने व्यवस्था लागू हुन सक्ने देखिएको छ ।

मार्जिन कारोबारतर्फ अघि बढ्दै ब्रोकर

हाल नेपालमा ९२ वटा स्टक ब्रोकरहरु छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीका अनुसार हालसम्म ४९ वटा ब्रोकरले मार्जिन कारोबारका लागि अन्तिम स्वीकृति लिइसकेका छन् भने थप १२ वटा ब्रोकर स्वीकृति लिने अन्तिम चरणमा छन् ।

नेपालमा मार्जिन कारोबारको व्यवस्था नयाँ भने होइन । धितोपत्र बोर्डले २०७४ सालमै यससम्बन्धी निर्देशिका ल्याएको थियो । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले २०७९ सालमा पहिलोपटक मार्जिन ऋण दिन सुरु गरेको थियो । तर त्यतिबेला २० प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने अवस्था र ब्रोकरसँग पर्याप्त रकम नहुँदा मार्जिन कारोबार विस्तार हुन सकेन ।

Advertisement Ads

यसैबीच, धितोपत्र बोर्डले २०८२ सालमा नयाँ मार्जिन कारोबार निर्देशिका ल्याएपछि भने ब्रोकरहरू यो सेवा विस्तार गर्न सक्रिय भएका छन् । नयाँ निर्देशिका आएपछि विभिन्न ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा गर्न थालेका छन् ।

१९ ब्रोकरले लिए बैंकबाट २५ अर्ब ५५ करोड ऋण

मार्जिन कारोबार विस्तारका लागि ब्रोकरहरूले बैंक तथा वित्तीय संस्थाबाट समेत स्रोत जुटाउन थालेका छन् । हालसम्म १९ वटा ब्रोकरले बैंकबाट २५ अर्ब ५५ करोड रुपैयाँ ऋण लिइसकेको विवरण छ । यस्तो ऋण मार्जिन कारोबार शीर्षकमा नभई वर्किङ क्यापिटल तथा रिसिभेबल फाइनान्सिङ (Working Capital and Receivable Financing) अन्तर्गत लिइएको हो ।

यसरी जुटाइएको रकम र आफ्नै स्रोत प्रयोग गरेर ब्रोकरहरूले लगानीकर्तालाई मार्जिन ऋण उपलब्ध गराउन सक्छन् । हाल अधिकांश ब्रोकरले वार्षिक ७.५ देखि ८ प्रतिशतसम्म ब्याजदरमा मार्जिन ऋण उपलब्ध गराइरहेको विवरण छ । यद्यपि, ब्रोकरअनुसार ब्याजदर र सेवा शुल्क फरक हुन सक्छ ।

मार्जिन कारोबारले बदल्न सक्छ लगानीकर्ताको रोजाइ

मार्जिन कारोबारको विस्तारसँगै नेपालको सेयर बजारमा लगानीकर्ताको रोजाइसमेत परिवर्तन हुन सक्ने देखिएको छ । पछिल्लो समय बजारमा कम्पनीको वित्तीय अवस्था र नाफाभन्दा पनि कारोबारयोग्य कित्ता थोरै भएका ‘लो क्याप’ कम्पनीको मूल्य छिटो बढ्न सक्ने अपेक्षामा लगानी गर्ने प्रवृत्ति देखिँदै आएको थियो । कारोबारयोग्य कित्ता कम भएका कम्पनीमा सामान्य माग बढ्दा पनि मूल्यमा ठूलो उतारचढाव आउने भएकाले यस्ता कम्पनीप्रति लगानीकर्ताको आकर्षण रहने गरेको छ ।

तर, अब मार्जिन कारोबारको व्यवस्था विस्तार हुँदा यस्तो प्रवृत्तिमा परिवर्तन आउन सक्ने देखिएको छ । मार्जिन कारोबारका लागि सबै कम्पनी योग्य हुँदैनन् । यसका लागि कम्पनीले तोकिएका वित्तीय तथा अन्य मापदण्ड पूरा गर्नुपर्छ । पछिल्ला तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएका र नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएका कम्पनी मात्रै यसका लागि योग्य हुन सक्छन् ।

मार्जिन कारोबारका लागि योग्य कम्पनीको सेयर खरिद गर्दा ब्रोकरबाट नियमानुसार ऋण सुविधा लिन सकिने भए पनि योग्य सूचीमा नपरेका कम्पनीको सेयर खरिद गर्न लगानीकर्ताले शतप्रतिशत रकम आफैँ जम्मा गर्नुपर्ने व्यवस्था लागू भएमा लगानीको निर्णयमा यसको प्रभाव पर्न सक्छ । यसले कारोबारयोग्य कित्ता थोरै भएकै आधारमा मूल्य बढ्ने अपेक्षा गर्नेभन्दा कम्पनीको वित्तीय अवस्था, नाफा र व्यावसायिक क्षमतासमेत हेरेर लगानी गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स