चिनियाँ अटोमोबाइल ब्राण्ड चांगानको प्रिमियम सबब्राण्ड नेभोको विद्युतीय एसयूभी दीपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले क्यू०५लाई म्याक्स र अल्ट्रा गरी दुई भेरियन्टमा बजारमा ल्याएको हो।
कम्पनीले नाडा अटो शो अवधिका लागि म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। नाडा अटो शो सकिएपछि भने यी भेरियन्टको मूल्य क्रमशः ४८ लाख ९९ हजार रुपैयाँ र ५१ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।
ठूलो आकार, आधुनिक डिजाइन, प्रिमियम फिचर र प्रविधिलाई मुख्य आधार बनाइएको क्यू०५लाई कम्पनीले नेपाली विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धी मोडलका रूपमा प्रस्तुत गरेको छ।
४६२ किलोमिटरसम्म रेन्ज
क्यू०५मा ५१.९ किलोवाट आवरको ‘गोल्डेन शिल्ड २.०’ एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको रेन्ज दिन्छ।
एसयूभीले १६२ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
यसमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। मोटरले १६३ हर्सपावर र १९० न्युटन मिटर टर्क उत्पादन गर्छ। क्यू०५ले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्ने कम्पनीले जनाएको छ।
फ्युचरिस्टिक डिजाइन र ठूलो क्याबिन
चांगानको ‘डिजिटल विङ २.०’ डिजाइन ल्याङ्ग्वेजमा आधारित क्यू०५को बाहिरी डिजाइन आधुनिक र फ्युचरिस्टिक देखिन्छ। अगाडि फुल–विथ स्टार रिङ एलईडी लाइट स्ट्रिप, म्याट्रिक्स हेडलाइट र क्लोज्ड ग्रिल दिइएको छ।
साइडमा फ्लोइङ क्यारेक्टर लाइन र एरोडाइनामिक ह्वील आर्च तथा पछाडि जोडिएको एलईडी टेललाइट बार प्रयोग गरिएको छ।
क्यू०५को लम्बाइ ४ हजार ४३५ मिलिमिटर, चौडाइ १ हजार ८५५ मिलिमिटर र उचाइ १ हजार ६०० मिलिमिटर छ। यसको ह्वीलबेस २ हजार ७३५ मिलिमिटर र ग्राउन्ड क्लियरेन्स १८५ मिलिमिटर रहेको छ।
क्याबिनमा १४.६ इन्चको सेन्ट्रल डिस्प्ले र १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ। एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ५० वाटको वायरलेस चार्जिङ, बिल्ट–इन ड्यासक्याम, थ्रीडी ५४० डिग्री क्यामेरा, मोबाइल कनेक्टिभिटी सिस्टम, ब्लुटुथ की र ओटीए अपडेटजस्ता सुविधा दिइएको छ।
त्यस्तै, २५६ प्रकारको एम्बियन्ट लाइटिङ र २७ स्थानमा स्टोरेज स्पेस उपलब्ध छ। एसयूभीमा ५४० लिटरको बुट स्पेस रहेको कम्पनीले जनाएको छ।
१८ भन्दा बढी एडास फिचर
सुरक्षातर्फ क्यू०५मा ६ वटा एयरब्याग, ५४० डिग्री क्यामेरा तथा लेभल–२ एडासअन्तर्गत १८ भन्दा बढी सुरक्षा तथा ड्राइभिङ असिस्ट फिचर उपलब्ध छन्।
मूल्य, रेन्ज, फास्ट चार्जिङ क्षमता र प्रिमियम फिचरलाई मुख्य आधार बनाएर बजारमा आएको क्यू०५ले नेपाली विद्युतीय एसयूभी बजारमा ५० लाख रुपैयाँ आसपासको मूल्य खण्डमा प्रतिस्पर्धा थप्ने देखिएको छ।

प्रतिकृया