सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले असोज १२ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैङ्क्वेटमा साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँड भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा समानुपातिक रूपमा करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया