सानिमा बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। दुवै बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि भोलि असोज १ गते बुक क्लोज गर्ने भएका छन्। त्यसअनुसार आजसम्म कायम सेयरधनीले सम्बन्धित बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।
सानिमा बैंकले २२औँ वार्षिक साधारण सभा असोज १२ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे आयोजना गर्दैछ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) तथा अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन हुनेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।
त्यस्तै, एभरेष्ट बैंकले ३२औँ वार्षिक साधारण सभा असोज १४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे आयोजना गर्दैछ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्ता पुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा रहनेछ।

प्रतिकृया