सुस्त पूँजी बजार सुधार्न १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउनेछौँ: अर्थमन्त्री वाग्ले

सुस्त पूँजी बजार सुधार्न १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउनेछौँ: अर्थमन्त्री वाग्ले
Advertisement Ads

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्लो समय पूँजी बजार सुस्त बनेको स्वीकार गरेका हुन्। विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अब त्यसलाई थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने बताए।

‘विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बिग्रिएको अवस्थालाई थप बिग्रन दिइने छैन,’ उनले भने, ‘लगानीकर्ताको विश्वास बढाउन र बजारलाई चलायमान बनाउन सरकारले आवश्यक सुधारका ठोस कार्यक्रमहरू अघि बढाउँदै छ।’

अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा रहेको ठूलो पूँजी घरजग्गा र सेयर बजारमा मात्रै केन्द्रित हुनुको सट्टा उत्पादनमूलक क्षेत्रमा परिचालन हुन सके अर्थतन्त्र अझ बलियो बन्ने धारणा राखे। निष्क्रिय पूँजीलाई उत्पादन तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्ने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको उनले बताए।

यस्तै, उनले सहकारी क्षेत्रको संकटले स्थानीय अर्थतन्त्रमा गम्भीर असर पारेको बताए। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान नभएसम्म स्थानीय आर्थिक गतिविधिलाई सहज बनाउन कठिन हुने उनको भनाइ थियो।

घरजग्गा कारोबारमा देखिएको मन्दी र पूँजी बजारको सुस्ततालाई सम्बोधन गर्दै समग्र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सरकारले नीतिगत पहल गरिरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए। अर्थतन्त्र सुधारका लागि सरकार दृढ रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स