युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न तथा सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ।
यसै विषयमा मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) तथा निजी क्षेत्रका प्रतिनिधिबीच मंगलबार आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजार व्यवस्थित गर्ने विषयमा बृहत् छलफल भएको छ।
मन्त्रालयले ‘रोजगार प्रवर्द्धन दशक ०८३/८४–९२/९३’ लाई सफल बनाउन कोशी प्रदेशको इटहरीबाट ‘सीप तथा रोजगार मेला’ सुरु गर्ने निर्णय गरेको छ। युवालाई सीप र रोजगारीसँग जोड्ने उद्देश्यले मेलालाई देशका सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको टोलीले इटहरी पुगेर स्थानीय सरोकारवालासँग मेलाका विषयमा छलफल गरेको थियो। छलफलमा सरोकारवालाले मेलाप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मेला औपचारिकतामा मात्र सीमित नगरी रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गर्ने र कार्यस्थलमा आधारित तालिममार्फत युवालाई सोझै रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ।
मन्त्रालयका अनुसार मेलामार्फत कृषि, अटोमोबाइल, एआई तथा डिजिटल सीपलगायतका क्षेत्रमा तालिम उपलब्ध गराउने तयारी छ। उद्योग तथा व्यवसायीलाई आगामी ५–६ महिनामा आवश्यक पर्ने जनशक्तिको संख्या र आवश्यक सीपबारे स्पष्ट माग उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ। सोही मागका आधारमा सीप तथा तालिम सञ्चालन गर्ने मन्त्रालयको तयारी छ।
छलफलमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित बनाउँदै सकेसम्म धेरै युवा जनशक्तिलाई स्वदेशमै रोजगारीमा जोड्नु रहेको बताएका थिए।

प्रतिकृया