रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पुरस्कार असोज १ गते घोषणा हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाभरका लागि स्थगित पुरस्कार घोषणा एकैपटक गर्ने तयारी गरेको हो।
करदातालाई बिल लिन तथा कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रममा भदौ १६ गते पुरस्कार घोषणा गर्ने तय भए पनि भोटेकोशी बाढीका कारण उत्पन्न विपत्तिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको थियो।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार असोज १ गते भदौ महिनाका सबै पुरस्कार घोषणा गरिनेछ। पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट दैनिक एक जनाका दरले १५ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
सोही अवधिका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।
त्यसपछि भदौ १६ देखि ३१ गतेसम्मको दोस्रो चरणका लागि दैनिक एक जनाका दरले १६ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार दिइनेछ। यस अवधिका उपभोक्तामध्येबाट एक जनालाई थप १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।
यसरी असोज १ गते भदौ महिनाका १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी कुल ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।
पुरस्कारमा सहभागी हुन उपभोक्ताले १०० रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा अनिवार्य रूपमा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। सकेसम्म अनलाइनमार्फत भुक्तानी गर्न विभागले आग्रह गरेको छ। अनलाइनबाट गरिएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुने विभागले जनाएको छ।
नगदमा कारोबार गरी सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गएर बिल अपलोड गरी उपहारका लागि कुपन लिनुपर्नेछ।
भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ १५ गतेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरी उपहार कुपन लिइसकेको हुनुपर्नेछ। त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्म कारोबार गरेका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरी कुपन प्राप्त गरिसकेको हुनुपर्ने विभागले जनाएको छ।
पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ। त्यसअनुसार १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कारबाट कर कट्टी भएपछि विजेताले १ लाख रुपैयाँ र १० लाख रुपैयाँको बम्पर पुरस्कारबाट कर कट्टी भएपछि ७ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।
साउन महिनाको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पनि ३३ जना विजेता छनोट भएका थिए। उनीहरूको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए।

प्रतिकृया