पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको भीषण बाढीले सडक कटान गरेपछि काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति वैकल्पिक मार्गबाट भइरहेको छ। यस्तो अवस्थामा थपिएको ढुवानी खर्चबापत प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा लिन पाइने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले भदौ १८ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं उपत्यकामा बजारीकरण हुने एलपी ग्यासको मूल्य निगमले तोकेको प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ भन्दा ढुवानी भाडासहित बढीमा २ हजार १६५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।
भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको केही खण्ड कटान भई सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास सिलिण्डरको बिक्री वितरण चुनौतीपूर्ण बनेको संघले जनाएको छ।
आपूर्ति सहज बनाउन सोही दिन नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच बैठक बसेको थियो। बैठकले काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका ग्यास उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगमा सिलिण्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं ल्याउन दिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार काठमाडौं उपत्यकाका ग्यास उद्योगले ती जिल्लामा रहेका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउनुपर्ने अवस्था बनेको संघले जनाएको छ।
नेपाल आयल निगमको २०७५ चैत २२ गतेको पत्रका आधारमा हेटौंडास्थित सहरा ग्यास उद्योगबाट काठमाडौंसम्मको १३१ किलोमिटर दूरी वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप ढुवानी भाडा ९३ रुपैयाँ २६ पैसा पर्ने उल्लेख छ। नियमअनुसार लाग्ने करसमेत जोड्दा उक्त रकम १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको हो।
संघको भदौ १८ गते सम्पन्न ३१औँ वार्षिक साधारणसभाले निगमले तोकेको २ हजार ६० रुपैयाँ मा उक्त ढुवानी भाडा थप गरी प्रतिसिलिण्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा भन्दा बढीमा ग्यास बिक्री वितरण नगर्न काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई अनुरोध गरेको छ।
साथै, विषम परिस्थितिलाई ध्यानमा राख्दै नयाँ सिलिण्डरको बजारीकरण कार्य नगर्न र नगराउन पनि संघले ग्यास उद्योगी तथा विक्रेतालाई अनुरोध गरेको छ।


प्रतिकृया