SHAREHUB SHAREHUB

ऊर्जा क्षेत्रमा ६ महिनामा के–के काम भए ? विद्युत् उत्पादनदेखि सिँचाइसम्म यस्तो छ प्रगति

Advertisement Ads
ऊर्जा क्षेत्रमा ६ महिनामा के–के काम भए ? विद्युत् उत्पादनदेखि सिँचाइसम्म यस्तो छ प्रगति
Advertisement Ads

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् उत्पादन, अन्तरदेशीय प्रसारण लाइन, सिँचाइ विस्तार र बाढी पूर्वसूचना प्रणालीमा सुधारका काम अघि बढाएको छ। मन्त्रालयको प्रगति प्रतिवेदनअनुसार मुलुकको कुल विद्युत् जडित क्षमता ४ हजार २७१.४८ मेगावाट पुगेको छ भने भारततर्फ विद्युत् निर्यात गर्ने क्षमता बढाएर १ हजार ६५० मेगावाट पुर्‍याउने सहमति भएको छ।

नीतिगत सुधार र सेवा प्रविधिमैत्री बनाउने प्रयास

मन्त्रालयले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा पेस गरेको छ। जलस्रोत विधेयक मन्त्रिपरिषद्मा पेस गरिएको छ भने राष्ट्रिय ऊर्जा दक्षता कार्ययोजना (NEEAP) पनि तयार गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण र व्यापारसम्बन्धी छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी संरचनात्मक सुधारको रोडम्याप तयार भइरहेको मन्त्रालयले जनाएको छ।

नागरिकलाई सहज सेवा उपलब्ध गराउन २४ घण्टे टोल-फ्री नम्बर ११५१, ह्वाट्सएप र ‘AI साथी’ च्याटबट सञ्चालनमा ल्याइएको छ। सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) समेत पूर्ण रूपमा लागू गरिएको प्रतिवेदनमा उल्लेख छ।

Advertisement Ads

भारतसँग विद्युत् आयात–निर्यात क्षमता बढाउने सहमति

नेपाल र भारतबीच ढल्केबर–मुजफ्फरपुर तथा ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् आयात क्षमता १ हजार मेगावाटबाट बढाएर १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार १०० मेगावाटबाट बढाएर १ हजार ६५० मेगावाट पुर्‍याउने सहमति भएको छ।

बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको नेपाल खण्ड सन् २०२६ अगस्टसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त लाइनलाई तत्काल २२० केभीमा सञ्चालन गरी १३० मेगावाट विद्युत् आयात र २०० मेगावाट निर्यात गर्ने सहमति जुटेको छ।

यसैगरी, चमेलिया–धौलीगंगा २२० केभी, मोतीहारी–निजगढ ४०० केभी तथा मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनको क्षमता विस्तारसम्बन्धी विस्तृत आयोजना प्रतिवेदन (DPR) स्वीकृत भएका छन्।

विद्युत् उत्पादन र ठूला आयोजनामा प्रगति

मन्त्रालयको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मुलुकको विद्युत् जडित क्षमता १७६.३१ मेगावाटले बढेको छ। प्रतिव्यक्ति विद्युत् खपत ४९६ किलोवाट घण्टा पुगेको छ भने सो अवधिमा २ हजार २८४.१०० गिगावाट आवर विद्युत् निर्यात गरिएको छ।

ठूला जलविद्युत् आयोजनातर्फ ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना र १ हजार ६३ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन्।

तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थलमा ६२ प्रतिशत, सुरुङ तथा विद्युत्‌गृहमा ७९ प्रतिशत र दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमा ८२ प्रतिशत भौतिक प्रगति भएको छ।

हेटौँडा–ढल्केबर प्रसारण लाइनअन्तर्गत हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विगत १२ वर्षदेखि रोकिएका १८ वटा टावर निर्माणको कामसमेत अघि बढेको छ। प्रतिवेदनअनुसार अब दुईवटा टावर निर्माण गर्न बाँकी छन्।

राष्ट्रिय गौरवका सिँचाइ आयोजनामा काम तीव्र

मन्त्रालयले बबई सिँचाइ आयोजना आगामी दुई आर्थिक वर्षभित्र र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने कार्यतालिका बनाएको छ।

पछिल्लो छ महिनामा बबई सिँचाइ आयोजनाबाट थप ६०० हेक्टर, सिक्टाबाट १ हजार ३०० हेक्टर, बड्कापथबाट ६१० हेक्टर, रानी जमरा कुलरियाबाट १५० हेक्टर र महाकाली सिँचाइ आयोजनाबाट १ हजार १५५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। सिक्टा सिँचाइ आयोजनाअन्तर्गत १३ किलोमिटर नहर निर्माणसमेत भएको छ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाको रोकिएको सिभिल निर्माण कार्यका लागि पुनः बोलपत्र आह्वान गरिएको छ। उक्त बोलपत्र हाल मूल्याङ्कनको चरणमा रहेको मन्त्रालयले जनाएको छ।

वैकल्पिक ऊर्जा र बाढी पूर्वसूचनामा सुधार

ग्रामीण क्षेत्रमा विद्युत् पहुँच विस्तार गर्ने क्रममा लघु तथा साना जलविद्युत्बाट ६९३ किलोवाट र सौर्य मिनीग्रिडबाट ८४१ किलोवाट विद्युत् थपिएको छ। यस अवधिमा १ लाख १९ हजारभन्दा बढी घरायसी बायोग्यास तथा सुधारिएको र विद्युतीय चुलो वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ।

बाढी पूर्वसूचना प्रणालीमा पनि सुधार गरिएको छ। प्रमुख नदीहरूमा बाढीको पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याइएको छ भने आकस्मिक बाढी (Flash Flood) को जोखिम पूर्वानुमान अवधि २४ घण्टाबाट बढाएर ४८ घण्टा बनाइएको छ।

भोटेकोशी तथा मनसुनजन्य बाढीको जोखिमका समयमा प्रभावित क्षेत्रका नागरिकलाई लाखौँ एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरिएको मन्त्रालयले जनाएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स