बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत अघि सारेको छ।
कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड २५ लाख ३२ हजार ४२५ रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावअनुसार कम्पनीले ४.७५ प्रतिशतका दरले ५ करोड ३३ लाख २० हजार २९० रुपैयाँ १८ पैसाबराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत अर्थात् २८ लाख ६ हजार ३३१ रुपैयाँ ६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि नियमानुसार वितरण गरिनेछ।
बोनसपछि १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव
बरुण हाइड्रोपावरले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी १ अर्ब १७ करोड ५८ लाख ५२ हजार ७१५ रुपैयाँ १८ पैसाको आधारमा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेस गर्ने भएको छ।
यस प्रस्तावअनुसार कम्पनीले प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो। यसका लागि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ।
प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन तथा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
कात्तिक २० गते २३औँ वार्षिक साधारणसभा
कम्पनीले आफ्नो २३औँ वार्षिक साधारणसभा २०८३ कात्तिक २० गते शुक्रबार काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९:३० बजे आयोजना गर्ने भएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने र रिक्त हुने चार सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। चार पदमध्ये संस्थापक सेयरधनीबाट तीन जना र सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालक निर्वाचित गरिनेछ।
कात्तिक ११ गते बुक क्लोज
बरुण हाइड्रोपावरले वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक ११ गते सेयर दाखिल खारेज अर्थात् बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिकृया