आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।
आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।
आज सेयरबजारमा के भयो?
असोज २९ गते बिहिबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २,६२५.८२ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ४ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको, ९१ कम्पनीको सेयर मूल्य घटेको र १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
अप्पर हेवाखोला हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्न सेबोनसँग माग्यो अनुमति, कति प्रतिशत जारी गर्ने ?
अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ।
बोर्डबाट अनुमति पाएमा कम्पनीले आफ्ना सेयरधनीलाई १ः०.९१३ अनुपातमा ९१.३ प्रतिशत हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल रहेको छ।
विन्ध्यवासिनी हाइड्रोपावरको सेयर कारोबार फुकुवा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लाभांश प्रस्तावसम्बन्धी जानकारी दिँदा सञ्चालक समितिको बैठक बसेको मिति गलत उल्लेख गरेको थियो। कम्पनीले मानवीय त्रुटिका कारण मिति फरक परेको भन्दै निर्णय माइन्युटको प्रमाणित प्रतिलिपिसहित नेप्सेमा स्पष्टीकरण पेस गरेको थियो।
कम्पनीको स्पष्टीकरणपछि नेप्सेले कारोबार फुकुवा गर्दै आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ तथा सूचीकरणसम्बन्धी सम्झौताका सर्त पूर्ण रूपमा पालना गर्न सचेत गराएको छ।
अझै यी ८ कम्पनीको सेयरधनी बने पाइन्छ लाभांश, कुनले कति दिँदैछन् ?
आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये ८ कम्पनीको सेयर किन्नेले अझै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यीमध्ये केही कम्पनीले बुक क्लोज मिति तय गरिसकेका छन् भने केहीले अझै बुक क्लोज मिति सार्वजनिक गरेका छैनन्।
माउन्टेन इनर्जी नेपालले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति कात्तिक १० गते तोकिएको छ।
त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले बुक क्लोज मिति भने तय गरेको छैन।
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति भने तय हुन बाँकी छ।
सिक्लेस हाइड्रोपावरले १२.७१ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश गरी कुल १३.३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति तय हुन बाँकी छ।
रिज लाइन इनर्जीले १०.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति कात्तिक १७ गते तोकिएको छ।
त्यस्तै, युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर ०.२६ नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति सार्वजनिक भएको छैन।
बिन्ध्यवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति कात्तिक १० गते तोकिएको छ।
बरुण हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्नेछ।
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र आजदेखि निष्काशन, वार्षिक कति ब्याज पाइन्छ ?
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज असोज २९ गतेदेखि निष्काशन गर्ने भएको छ। बैंकले ‘आरबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।
बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ ऋणपत्र निष्काशन गर्न लागेको छ। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ।
सार्वजनिक निष्काशनअन्तर्गत छुट्याइएको १२ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइ सर्वसाधारणले खरिद गर्न सक्नेछन्।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
ऋणपत्र निष्कासन छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते बैंकिङ समयपछि बन्द हुनेछ। सात वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन्।
यस ऋणपत्रको बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटलले पाएको छ।
हिजोका समाचार छुटाउनुभयो कि?
आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।
भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।
धन्यवाद।

प्रतिकृया