एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत् आयोजना र एक केबल उद्योगमा लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले छुजुङ खोला जलविद्युत् आयोजना, दुधकोशी–२ जलविद्युत् आयोजना र अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो।
कम्पनीको विवरणअनुसार सङ्ग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय भएको छ।
त्यस्तै, दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडद्वारा प्रवर्द्धित सोलुखुम्बु जिल्लामा अवस्थित ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरिएको छ।
यसैगरी, मोरङ जिल्लामा अवस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा २ लाख ८५ हजार कित्ता सेयरका लागि ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
तीनवटै कम्पनी तथा आयोजनामा गरी कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ।


प्रतिकृया