अपि पावर लिमिटेडले लाभांश प्रस्ताव घटाएर २१औं वार्षिक साधारण सभा आव्हान गरेको छ । असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले यस अघि गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । तर, विद्युत नियमन आयोगले असोज ६ गते कम्पनीलाई यस वर्षको लाभांश वितरणका लागि स्वीकृति दिन नमिल्ने निर्णय गरेको थियो । विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले लाभांश प्रस्ताव संशोधन गर्दै ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन माग अनुरुप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको साथै बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गरेको नियमन आयोगको ठहर थियो । जुन कार्य कम्पनी ऐन , २०६३ को दफा ५६ को उपदफा (१०) ले वर्जित गरेको भन्दै स्वीकृति दिन नमिल्ने जानकारी आयोगले दिएको थियो । यसअघि कम्पनीले कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको थियो । विद्युत नियमन आयोगको निर्देशन कुर्दै सो वार्षिक साधारण सभा स्थगित गरेको कम्पनीले आइतबार सूचना जारी गर्दै साधारण सभाको मिति तय गरेको हो ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्नेछ। बुक क्लोजको आधारमा कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषय टुङ्ग्याउनेछ ।




















प्रतिकृया