परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै पूरक प्रश्न सोध्न नपाएपछि रास्वपा सांसद आशिका तामाङ प्रतिनिधिसभा बैठकबाट बाहिरिएकी छन्।
मंगलबारको बैठकमा मन्त्री खनालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन पहल गर्ने जानकारी दिएका थिए।
यसअघि सोमबारको बैठकमा सांसद तामाङले राईको शव नेपाल ल्याउन सरकारको पहल माग गरेकी थिइन्। त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए।
मन्त्री खनालले जवाफ दिइरहेका बेला सांसद तामाङले उठेर पुनः प्रश्न सोध्न खोजेकी थिइन्। तर, सभामुखले शून्य र विशेष समयमा उठेका जिज्ञासाको जवाफ दिइरहेकाले पूरक प्रश्न सोध्न नमिल्ने भन्दै उनलाई आसनमा बस्न आग्रह गरे।
सभामुखले भने, ‘मैले बोल्न समय दिएको छैन, बस्नुस् ।’
तर तामाङले आफूले बोल्न पाउनुपर्ने अडान राखिरहिन्। त्यसपछि सभामुखले उनलाई सभाको मर्यादामा रहन निर्देशन दिए।
“माननीय सदस्य आशिका तामाङलाई म सभाको मर्यादामा रहन निर्देश गछु,” सभामुख अर्यालले भने ।
सभामुखको निर्देशनपछि सांसद तामाङ झोला बोकेर बैठकबाट बाहिरिएकी हुन्।

प्रतिकृया