नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा मात्रै ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ करअघिको मुनाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको करअघिको मुनाफा १ अर्ब २२ करोड ४८ लाख ४ हजार रुपैयाँ थियो। त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ रहेको यस्तो मुनाफा चौथो त्रैमासमा १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँले बढेको हो।
कम्पनीको वार्षिक खुद मुनाफा पनि बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म टेलिकमले ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको ६ अर्ब ६७ लाख रुपैयाँको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख अर्थात् ४७.५८ प्रतिशत बढी हो।
डाटा खपत बढ्दा आम्दानीमा सुधार
टेलिकमका अनुसार पछिल्लो समय ‘फाइबर टु दि होम’ (एफटिटिएच) र जिएसएम डाटाको खपत बढ्दा आम्दानीमा सुधार आएको छ। सञ्चालन खर्च घट्नुका साथै विज्ञापन, प्रायोजनलगायतका खर्च कटौती हुँदा पनि नाफा बढेको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्षमा विज्ञापन र प्रायोजनलगायतका खर्च कटौतीबाट मात्रै १० करोडदेखि १५ करोड रुपैयाँ हाराहारी बचत भएको टेलिकमले जनाएको छ। सेवा सञ्चालन तथा मर्मतसम्भार खर्च र नियामकलाई तिर्नुपर्ने रकमसमेत अघिल्लो वर्षको तुलनामा घटेको छ।
सञ्चालन आय ३४ अर्ब ९५ करोड
गत आर्थिक वर्षमा टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो।
त्यस्तै, कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँको तुलनामा कुल आय १ अर्ब १ करोड १५ लाख अर्थात् २.६५ प्रतिशतले बढेको हो।
करअघिको वार्षिक मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँभन्दा ३ अर्ब ४१ करोड ४५ लाख अर्थात् ३४.६६ प्रतिशत बढी हो।
त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ४९.२५ रुपैयाँ रहेको छ।
ब्याज आम्दानी घटे पनि नाफा बढ्यो
ब्याजदर घटेका कारण टेलिकमको ब्याज आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ।
तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढ्दा समग्र सञ्चालन आय र नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ। विशेषगरी जिएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ।
सेवा सुधारमा सरकारी पहल
पछिल्लो समय नेपाल टेलिकमको सेवा सुधारका लागि विभिन्न पहल अघि बढाइएको छ। डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था अन्त्य हुनुका साथै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागू गर्ने काम अघि बढाइएको छ।
‘पे–एज–यू–गोज’ प्रणाली लागू भएपछि डाटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्ने विषयमा ग्राहकले विकल्प रोज्न पाउने व्यवस्था गरिएको छ।
ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवा अनलाइनबाट उपलब्ध गराइएको छ। ग्राहकलाई सहज सेवा दिन कार्यालयहरूमा ‘एकल बिन्दु सेवा’ सहायता कक्षसमेत स्थापना गरिएको छ।
यस्तै, ४जी सेवाको पहुँच र गुणस्तर सुधारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने लगायतका नीतिगत पहल भएका छन्।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया