स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण र KYC Update लगायतका काम अनलाइनबाटै गर्न सकिने गरी HIB e-Portal सञ्चालनमा ल्याएको छ।
बोर्डका अनुसार २०८३ साउन २९ गतेदेखि www.eportal.hib.gov.np मार्फत स्वास्थ्य बीमासम्बन्धी सेवा लिन सकिने भएको हो। यसका लागि स्वास्थ्य बीमा बोर्डले “विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आवद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३” अनुसार प्रणाली कार्यान्वयनमा ल्याएको हो।
HIB e-Portal लाई राष्ट्रिय परिचयपत्र (NID) सँग समेत अन्तरआवद्ध गरिएको छ। NID नभएका परिवारका सदस्यले भने ‘म्यानुअल’ रूपमा डिजिटल विवरण पेश गर्न सक्नेछन्।
स्वास्थ्य बीमा आबद्धता तथा नवीकरणका लागि हाल eSewa, Khalti र Connect IPS मार्फत Premium भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण गर्न सक्नेछन्।
यसअघि नै स्वास्थ्य बीमा गरिसकेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बरमार्फत प्रणालीमा जोडिएर KYC Update तथा नवीकरण गर्न सक्नेछन्।
त्यस्तै, कार्यालय वा संगठित क्षेत्रबाट Bulk Enrollment तथा Bulk Renewal गर्न सकिने व्यवस्था गरिएको छ। जिल्ला तथा प्रदेशबाट प्रमाणीकरण र स्वीकृतिको व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ। स्वीकृति भएपछि डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुनेछ।
बोर्डका अनुसार विद्युतीय प्रणाली लागू भएपछि स्वास्थ्य बीमामा आबद्धता र नवीकरण प्रक्रिया सहज हुनुका साथै सेवाग्राहीको समय बचत हुनेछ। यसबाट सेवा प्रवाहमा पारदर्शिता बढ्ने र KYC Update मार्फत बीमितको पुरानो विवरण अद्यावधिक गरी तथ्याङ्कको शुद्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल सरकारले अघि सारेको डिजिटल सुशासनको अवधारणाअनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रियामा HIB e-Portal ले महत्वपूर्ण योगदान पुर्याउने बोर्डको विश्वास छ।


प्रतिकृया