बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द छैन, ऋण लिने कुरा तथ्यहीन हो: परराष्ट्र मन्त्री राणा
परराष्ट्रमन्त्री आरजु राणाले बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआई) सम्झौतामा सरकारले ऋण लिने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेकी छन्। सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै राणाले भनिन्, “प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा ऋण लिने कुनै सहमति भएको छैन।”
कांग्रेस सांसद विमलेन्द्र निधी, राप्रपा सांसद पशुपति शंमशेर जबरा, योगेश गौचनलगायतका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै राणाले थपिन्, “बिआरआई सम्झौतामा ऋण लिने कुरा कतै उल्लेख गरिएको छैन। जसरी ऋण लिने सम्झौता भएको भनिएको छ, त्यो तथ्यहीन हो। सम्झौतामा ‘ग्रान्ड’ र ‘एड’ शब्द मात्र प्रयोग गरिएको छ, ‘लोन’ शब्द भने छैन।”
ऋण लिने कुरा बारे फैलिएका हल्लाहरूलाई खण्डन गर्दै उनले भनिन्, “मैले २० पटक जति सम्झौताका कागजात पढेपछि पनि ऋणको कुरा कहीं पनि भेटिन। तपाईंहरूले सय पटक पढेर पनि ऋणको कुरा पाउनुहुन्न।”
प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणमा थिए।