प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था र उद्धार तथा राहतबारे सम्बन्धित जिल्लाका संघीय सांसदसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसद सहभागी थिए। उनीहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे जानकारी लिइएको थियो।
सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पुर्याएको असर तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।
सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतका लागि सरकार पूर्ण रूपमा परिचालित रहेको बताएका छन्। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

प्रतिकृया