सानिमा रिलायन्स लाइफको बोनस सेयर पाउन कर तिर्नुपर्ने, करको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को १८.३८११ प्रतिशत बोनस सेयर पाउनका लागि सेयरधनीहरुलाई पहिले कर तिर्न आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै एनएमबि बैंकको खाता नम्बर ९९०००५३६६७८००१७३ मा करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो।
बैंकमा रकम जम्मा गर्दा सेयरधनीले आफ्नो हितग्राही खाता नम्बर, नाम र मोबाइल नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, बैंक भौचर स्क्यान गरी कम्पनीको वेबसाइट www.sanimareliance.com/share-tax-2 मा पठाएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिनेछ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत ९ गतेबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका रूपमा एकीकृत कारोबार सुरु भएको थियो। आयकर ऐन, २०५६ को दफा ४७ (क) को उपदफा ५ अनुसार, गाभिएको मितिमा रहेका सेयरधनीलाई दुई वर्षसम्म वितरण गरिएको लाभांशमा कर नलाग्ने व्यवस्था छ। तर, हाल वितरण गरिने बोनसमा भने कर तिर्नुपर्ने भएकाले कम्पनीले सबै सेयरधनीलाई निर्धारित प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।