युवा उद्यमशीलता र रोजगारीका लागि नयाँ कार्यक्रम ल्याउँदै सरकार, केयर इकोनोमी पोलिसी पनि बन्दै

युवा उद्यमशीलता र रोजगारीका लागि नयाँ कार्यक्रम ल्याउँदै सरकार, केयर इकोनोमी पोलिसी पनि बन्दै
Advertisement Ads

राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी पाँच वर्षभित्र १ लाख युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्यसहित सरकारले विभिन्न कार्यक्रम अघि बढाएको बताएका छन्।

मन्त्री यादवले नेपालको इतिहासमै पहिलो पटक निर्माण भइरहेको ‘केयर इकोनोमी पोलिसी’ मार्फत उक्त लक्ष्य हासिल गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

उनले सम्मेलनपछि तयार हुने ‘काठमाडौँ घोषणापत्र’का सुझावलाई मन्त्रालयमा छलफल गरी कार्यान्वयनमा लैजान सरकार तत्पर रहेको बताएका छन्।

Advertisement Ads

मन्त्री यादवले भने, “सम्मेलन पश्चात् तयार हुने ‘काठमाडौँ घोषणापत्र’का सुझावहरूलाई मन्त्रालयमा छलफल गरी कार्यान्वयनमा लैजान सरकार तत्पर रहेको छ।”

वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र अनुभवलाई स्वदेशमै उपलब्ध अवसरसँग जोड्न सरकारले ‘रिटर्नी कनेक्ट’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउन लागेको छ। त्यस्तै, देशभित्रै प्लेटफर्म इकोनोमी विस्तार गर्न ‘श्रम सेवा’ नामक अर्को डिजिटल प्लेटफर्म पनि सञ्चालनमा ल्याउने तयारी छ।

Advertisement Ads

युवा उद्यमशीलता प्रवर्द्धनका लागि विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी नीतिसम्बन्धी कामसमेत अघि बढाइएको मन्त्री यादवले बताएका छन्।

युवा स्वरोजगार कोषमार्फत विना धितो ऋण उपलब्ध गराउनुका साथै व्यावसायिक सोच विकास र मार्गदर्शन प्रदान गर्ने कार्यक्रम ल्याउन लागिएको छ। यसअन्तर्गत ‘युवा उद्यम सारथी’, ‘कर्मयोगी श्रम सम्मान योजना’ र ‘उद्यम बनाऊ उद्यम बढाऊ’ जस्ता कार्यक्रम आगामी महिना सार्वजनिक गर्ने तयारी रहेको छ।

श्रम तथा रोजगारी क्षेत्रमा वर्षौँदेखि रहेका बेथिति हटाउन सरकारले नीति, ऐन र नियमावलीमा समयानुकूल सुधार गरिरहेको पनि मन्त्री यादवले बताएका छन्।

नेपालमा पहिलो पटक निर्माण भइरहेको राष्ट्रिय रोजगार ऐनमा सामाजिक उद्यमशीलतालाई समेट्ने घोषणा गरिएको छ। त्यस्तै, १९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गरिएको मन्त्री यादवको भनाइ छ।

सङ्घीयता लागू भएपछि पहिलो पटक राष्ट्रिय युवा ऐन संशोधन गर्न लागिएको छ। संशोधनमार्फत राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा पहिलो पटक ३५ वर्षमुनिका युवालाई नियुक्त गर्ने प्रस्ताव गरिएको उनले जानकारी दिएका छन्।

दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय युवा सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल गभर्नेन्स, उद्यमशीलता, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक समानता र नागरिक सहभागितालगायत विषयमा छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स