नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा निर्दोष ठहरिन बाँकी रहेको बताएका छन्। संसदमा सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन पेश भएलगत्तै, संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै महतले गोरखा मिडिया सहकारीको ठगेको पैसाबाट सञ्चालित भएको स्पष्ट भएको दाबी गरे।
उनले भने, “रवि लामिछाने गोरखा मिडियाको सीईओको रूपमा सहकारीबाट ठगी गरी ल्याइएको पैसाबाट तलबभत्ता लिएको प्रमाणित भएको छ। यस अवस्थामा आफूलाई निर्दोष घोषित गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो।”
महतले थपे, “प्रतिवेदनको सम्पूर्ण विवरण आइसकेको छैन, तर गोरखा मिडियाले ८५ करोड रूपैयाँ सहकारीबाट लिएको तथ्य आएको छ। गोरखा मिडिया पूर्ण रूपमा सहकारीकै पैसाबाट चलेको र लामिछानेले त्यहीँबाट तलबभत्ता लिएको कुरा प्रमाणित भइसकेको छ। यसरी अवैध रूपमा प्राप्त रकमबाट तलब लिँदा पनि आफूलाई दोषमुक्त भनिनु गैरजिम्मेवार व्यवहार हो।”
उनले प्रतिवेदनको थप विवरणमा लामिछानेको प्रत्यक्ष संलग्नता आउन सक्ने बताएका छन्।
















प्रतिकृया