हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।
जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई छन् । जिल्लाको मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ ।
एकाइ प्रमुख रुद्र शर्माका अनुसार मध्यविन्दुको संस्थागततर्फ तमासपुरको सनराइज इङ्ग्लिस स्कुल र वल्र्ड लाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् । त्यस्तै, सामुदायिकतर्फ रत्नराज्य माध्यमिक विद्यालय र प्राविधिक धारको जनता माध्यमिक विद्यालय अरुणखोला छन् ।
त्यसैगरी विनयी त्रिवेणीमा एक/एक संस्थागत र सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाको गैँडाकोट नगरपालिकामा दुई विद्यालयको नतिजा शून्य आएको एकाइ प्रमुख शर्माले बताए । हुप्सेकोटको जनता माध्यमिक विद्यालय गुहेरी र जनकल्याण राष्ट्रिय माध्यमिक विद्यालय शङ्खदेवको नतिजा शून्य आएको छ । नतिजा शून्य ल्याएका दुवै सामुदायिक विद्यालयमध्ये गोरखकालीबाट सात र जनजागृतिबाट चार विद्यार्थी एसइईमा सामेल भएका एकाइ प्रमुख शर्माले बताए ।
जिल्लामा सामुदायिकतर्फ ८७ विद्यालयबाट चार हजार पाँच सय २३ विद्यार्थी एसइईमा सहभागी भएकामध्ये एक हजार आठ सय ५३ विद्यार्थी उत्तीर्ण भएका छन् ।
संस्थागत विद्यालयका विद्यार्थी उत्तीर्ण प्रतिशत ७० रहेको रहेको जनाउँदै उनले संस्थागत विद्यालयबाट चार सय १७ विद्यार्थी एसइईमा ‘अनुत्तीर्ण’ भएका बताए ।
जिल्लाका एक सय ३९ विद्यालयबाट एसइईमा सहभागी भएका पाँच हजार नौ सय २७ विद्यार्थीमध्ये दुई हजार आठ सय ४० विद्यार्थी उत्तीर्ण भएका उनले बताए । जिल्लामा एसइईमा उत्तीर्ण विद्यार्थीको प्रतिशत ४७ दशमलब ९२ रहेको उनको भनाइ छ ।
#bajarkochirfar #bazarkochirfar



















प्रतिकृया