लाभांश पारित गर्न आज दुई कम्पनीको साधारणसभा बस्दै, कुनले कति दिँदैछ ?
हिमालय लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज (फागुन ११) बस्दैछ। यी दुवै कम्पनीले लाभांशसहित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्नेछन्। हिमालयन लाइफको सभा काठमाडौंको अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतलीमा बिहान १०:३० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, जसमा लाग्ने कर सेयरधनीहरूले व्यहोर्नुपर्नेछ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, र खर्च अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा छलफल गरी पारित गरिनेछ। कम्पनीले माघ २५ गते बुक क्लोज गरिसकेकोले माघ २४ गतेसम्म कायम रहेका सेयरधनीहरूले प्रस्तावित लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन्।
त्यस्तै, समता घरेलु लघुवित्तको ११औं वार्षिक साधारणसभा धुलिखेल, काभ्रेपलाञ्चोकस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान ११:३० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। कम्पनीको हाल कायम चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ रहेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्नेछ। साथै, सञ्चालक समितिमा १ जना महिलासहित ६ जना निर्वाचित गर्नेछ, जसमा २ जना सर्वसाधारण समूहबाट र ४ जना संस्थापक समूहबाट चयन हुनेछन्।
सभाले उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरू पनि पारित गर्नेछ। लघुवित्तले माघ २४ गते बुक क्लोज गरिसकेकोले माघ २३ गतेसम्म कायम रहेका सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।