प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्ने आज अन्तिम दिन
दोर्दी खोला जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज (जेठ २०) अन्तिम दिन हो। कम्पनीले जेठ ११ गतेदेखि करिब १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो। यसअघि चुक्तापुँजीको अनुपात १ः१ अनुसार प्रतिकित्ता १०० रुपैयाँ दरमा कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो, जसबाट बाँकी रहेका सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
लिलामीमा राखिएका सेयरमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता, र लकइनमा नपरेका सर्वसाधारण समूहका ४ लाख ९५ हजार ६७९ कित्ता सेयर समावेश छन्। दुवै समूहको सेयरमा लाग्ने लकइन अवधि आगामी असार ७ गते सकिनेछ। इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण सेयर खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन्।
बोलपत्र सानिमा क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा तथा सानिमा बैंकका शाखाहरू—विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर—र गरिमा विकास बैंकको बागलुङ शाखामा पेश गर्न सकिनेछ।