नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पूँजीबजारमा नयाँ प्रडक्ट ल्याएर बजारमा उत्साह बढाउनुपर्नेमा जोड दिएका छन्। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ गते आयोजित पूँजीबजारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा अध्यक्ष भट्टले सेबोनले अब क्यास अथवा क्रेडिट कारोबार गर्ने नीति अवलम्बन गर्ने विषयमा जोड दिए। आउँदै गरेको मार्जिन कारोबारले अहिलेको क्रेडिट कारोबारलाई सुधार गर्ने उनले बताए।
अध्यक्ष भट्टले सेबोनले पूँजीबजारसँग सम्बन्धित केही मार्गदर्शन जारी गर्ने तयारी गरेको जानकारी दिँदै त्यसमा लगानीकर्ताको हित, जोखिममा आधारित नियमन तथा पूँजीबजारमा संस्थागत सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइने बताए। प्राथमिक तथा दोस्रो बजारमा सुधार गर्ने विषयमा पनि उनले जोड दिए।
कार्यक्रमको सभापतित्व गरेका स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नेपाल धितोपत्र बोर्डमा रहेका २०/२२ वर्ष अघिका ऐनहरू परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। सेबोनमा नयाँ नेतृत्व आएपछि आफूहरूले कल्पना गरेभन्दा बढी काम भएको उनले बताए। साथै, ‘अटो इडिआइएस’ हुने व्यवस्था ल्याउन सेबोनलाई सुझाव दिए।
कार्यक्रममा संघका उपाध्यक्ष नितेश कुमार अग्रवालले पूँजीबजार विकाससम्बन्धी मार्गचित्र प्रस्तुत गरेका थिए।
कार्यक्रम समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति तथा पूर्वअध्यक्ष प्रियराज रेग्मीले सेबोन अध्यक्षको धारणा स्पष्ट रूपमा बुझिएको र सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। सेयरबजारमा सबैभन्दा महत्वपूर्ण विषय लगानीकर्ता र लगानीकर्ताको विश्वास रहेको उनले बताए। साथै, ब्रोकर व्यवसायलाई आधुनिक र सम्मानित बनाउनुपर्नेमा पनि उनले जोड दिए।
अन्तरक्रिया कार्यक्रममा सेबोनका अध्यक्षसहित सम्पूर्ण व्यवस्थापन टोली तथा ८० भन्दा बढी ब्रोकर कम्पनीका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रमको सञ्चालन संघका महासचिव भक्तिराम घिमिरेले गरेका थिए।

प्रतिकृया