अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको स्पष्ट पारेका छन्। बरु स्वास्थ्य बीमाका लागि गत वर्ष ११ अर्ब र चालु आर्थिक वर्षमा ५ अर्ब थप बजेट व्यवस्था गरिएको उनले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकको स्वास्थ्य बीमासम्बन्धी जिज्ञासाको जवाफ दिँदै वाग्लेले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार अघिल्लो सरकारले गत वर्ष स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री बनेपछि थप ११ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको उनले बताए।
चालु आर्थिक वर्षमा भने स्वास्थ्य बीमाको बजेट ५ अर्ब रुपैयाँले बढाएर १५ अर्ब रुपैयाँ पुर्याइएको वाग्लेले स्पष्ट पारे।
“गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,” उनले भने, “यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।”
स्वास्थ्य बीमामा सरकारको दायित्व निरन्तर बढिरहेको भए पनि त्यसअनुसार नागरिकले सेवा पाइरहेका छन् वा छैनन् भन्ने विषयमा भने प्रश्न रहेको वाग्लेले बताए।
सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको उल्लेख गर्दै उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन भइरहेको जानकारी दिए।

प्रतिकृया