बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएका समस्या समाधान तथा फोहोर व्यवस्थापन सुधारका विषयमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच छलफल भएको छ।
सञ्चार मन्त्रालयमा भएको छलफलमा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र, स्थानीयवासीका गुनासा, फोहोर विसर्जनपछि क्यापिङ र फोहोर व्यवस्थापनमा तीन तहका सरकारबीच समन्वय गर्ने विषयमा छलफल भएको हो।
मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा पुग्ने सडक सुधारका लागि संघीय सरकार र महानगरपालिकाले आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताए। फोहोरबाट दुर्गन्ध फैलिएको, सवारीसाधन नछोपी फोहोर ढुवानी हुने तथा समयमा क्यापिङ नहुने लगायतका स्थानीयका गुनासा समाधान गर्नुपर्ने उनको भनाइ छ।
कार्यवाहक प्रमुख डंगोलले बञ्चरेडाँडामा काठमाडौँसहित उपत्यकाका २० वटा पालिकाबाट फोहोर जाने भए पनि व्यवस्थापनको अधिकांश आर्थिक भार महानगरले मात्र व्यहोर्दै आएको बताइन्। अन्य पालिकाले पनि आर्थिक योगदान गरे स्थानीयका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ।
महानगरपालिकाका अनुसार बञ्चरेडाँडा पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने छ। दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक त्यहाँ पुग्ने गरेका छन्।
ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्थापनका लागि स्रोतमै फोहोर वर्गीकरण, संकलन तथा ढुवानी प्रणाली सुधार र संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको छ।

प्रतिकृया