दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड
Advertisement Ads

नेपालीहरूको महान् पर्व बडादसैँलाई मौलिक संस्कृति, परम्परा र पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले देशका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ।

बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौं उपत्यकासहित विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा पिङ निर्माण गर्न लागेको हो।

यसका लागि ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल, होटल व्यवसायी महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासँग सहकार्य गरिएको बोर्डले जनाएको छ।

सम्झौताअनुसार पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा लिङ्गे पिङ निर्माण गरी दसैँ अवधिभर सञ्चालन गरिनेछ।

पिङ निर्माण तथा सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने सम्झौतामा उल्लेख छ। दसैँको कार्यक्रम सकिएपछि पिङ हटाई निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारी पनि सम्बन्धित पक्षको हुनेछ।

Advertisement Ads

मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले दसैँमा लिङ्गे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढाइएको बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स