मुग्लिङ-नौबिसे सडकखण्ड आज (पुस ७) गतेदेखि पुस १३ गतेसम्म दैनिक तीन घण्टा बन्द हुने भएको छ। पोखरेभिर र विशालटार क्षेत्रमा मोड सुधार गर्न चट्टान काट्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने निर्णय गरिएको हो।
जिल्ला सुरक्षा समितिको पुस ३ गतेको बैठकले यो निर्णय गरेको हो। मोड सुधारका लागि सवारी साधन रोकिने स्थान पनि तोकिएको छ। पोखरेभिर क्षेत्रमा भारी सवारी साधनलाई गल्छी-बैरेनी र चालिसेमा, हलुका सवारी साधनलाई जरेखेत र घाटबेसीमा रोक्नुपर्नेछ।
यस्तै, विशालटार क्षेत्रमा भारी सवारी साधनलाई मझिमटार र बेनीघाटमा तथा हलुका सवारीलाई चरौदी बजार र विशालटारमा रोक्नुपर्नेछ। सडक बन्द अवधिभर लेन अनुशासन पालना गर्न र सुरक्षित रूपमा सवारी सञ्चालन गर्न जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ।


प्रतिकृया