झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने नयाँ ठेक्का प्रक्रिया अघि बढेको छ। लामो समयदेखि अलपत्र रहेको सडक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ।
सडक डिभिजन दमकले प्रकाशित गरेको सूचनाअनुसार नयाँ ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन सम्पन्न भएको छ। ठेक्का स्वीकृत गर्ने आशयको सूचनाअनुसार महालक्ष्मी–जय धनञ्जय जेभी, काठमाडौंको १ अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसा कबोल रकमको बोलपत्र प्रारम्भिक रूपमा छनोट भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाउनुलाई प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्।
करिब २५.५ किलोमिटर लामो यो सडकखण्ड तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यसहित २०७६ फागुनमा ठेक्का सम्झौता गरिएको थियो। तर, मन्त्रालयले पटक–पटक ताकेता, पत्राचार र सूचना जारी गर्दा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि सम्झौताअनुसार ठेक्का अन्त्य गरिएको थियो।
ठेक्का अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरिएको थियो।
ठेक्का अन्त्य गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा मुद्दा दायर गरेपछि कानुनी प्रक्रियाका कारण नयाँ ठेक्का अघि बढाउन ढिलाइ भएको थियो। कानुनी प्रक्रिया तथा विवाद समाधान, स्रोत सहमति, लागत अनुमान र डिजाइन अद्यावधिक गर्ने काम पूरा भएपछि पुनः ठेक्का आह्वान गरिएको मन्त्री लम्सालले बताएका छन्।
नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएसँगै वर्षौंदेखि निर्माणको प्रतीक्षामा रहेको सडकखण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको छ। स्थानीयवासीका लागि लामो समयदेखि सास्तीको विषय बनेको यो सडक राजनीतिक दलका चुनावी प्रतिबद्धतामा समेत पटक–पटक समेटिँदै आएको थियो।
दमक–चिसापानी सडक कालोपत्रे गर्ने विषय प्रधानमन्त्री वालेन्द्र शाहको झापा–५ को चुनावी प्रतिबद्धता पत्रमा समेत समावेश थियो।


प्रतिकृया