लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य पुनः सुरु भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दुई महिनाभित्र उक्त सडकमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन्।
सडकको सेन्टरलाइन र इन्टरसेक्सन अर्थात् चोकको विषयमा विवाद भएपछि निर्माण कार्य रोकिएको थियो। मन्त्रालयको पटक–पटकको सहजीकरणपछि विवाद समाधान भएसँगै निर्माण अघि बढाइएको मन्त्री लम्सालले बताएका छन्।
हाल निर्माणस्थलमा पुरानो सडक सतह हटाउने काम भइरहेको छ। बाँकी सडकखण्डलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।
मन्त्री लम्सालका अनुसार साँगा–धुलिखेल सडकखण्डको सर्भिस लेनसहित कुल लम्बाइ ७.९ किलोमिटर छ। त्यसमध्ये ६.५ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी १.४ किलोमिटर सडक निर्माण गर्न बाँकी छ।
बाँकी सडकखण्डको निर्माणलाई तीव्रता दिँदै सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ। निर्माण कार्य अघि बढेसँगै बनेपा बजार क्षेत्रको यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया