नेपालले जलवायु परिवर्तनबाट उत्पन्न हुने विपद्को जोखिम निगरानी र पूर्वसूचना प्रणाली सुदृढ बनाउन एसिया प्रशान्त क्षेत्रीय अन्तरिक्ष सहकार्यका लागि तीनवटा प्रस्ताव अघि सारेको छ।
थाइल्याण्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) द्वारा आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा नेपालले यी प्रस्ताव राखेको हो। सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु जोखिमको निगरानी र पूर्वसूचना प्रणालीमा अन्तरिक्ष प्रविधिको प्रयोग बढाउन क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन्।
सम्मेलनको ‘उत्थानशील र समावेशी भविष्यका लागि सुदृढ क्षेत्रीय सहकार्यमार्फत अन्तरिक्ष प्रविधिको उपयोग’ सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दै गएका जटिल विपद्को सामना गर्न अन्तरिक्ष प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिएका हुन्।
नेपालले पहिलो प्रस्तावका रूपमा उच्च हिमाली क्षेत्रका जोखिमलाई क्षेत्रीय अन्तरिक्ष सहकार्यको निरन्तर प्राथमिकतामा राख्नुपर्ने बताएको छ। यसअन्तर्गत कमजोर पहाडी ढलान र हिमतालको भूउपग्रहबाट नियमित निगरानी गरी क्षेत्रीय जोखिम अनुगमन तथा पूर्वचेतावनी प्रणालीलाई सुदृढ बनाउने प्रस्ताव गरिएको छ।
दोस्रो प्रस्तावमा भूउपग्रहबाट प्राप्त तथ्याङ्कलाई समयमै निर्णय लिन उपयोगी सूचना र व्यावहारिक मार्गदर्शनमा रूपान्तरण गर्नुपर्ने उल्लेख छ। यसका लागि साझा विश्लेषणात्मक उपकरण र प्रशिक्षित जनशक्तिको आवश्यकता रहेको मन्त्री श्रेष्ठले औँल्याएका छन्।
तेस्रो प्रस्तावमा अन्तरिक्षमा आधारित सूचना तथा सेवामा सबै देशको समान र सहज पहुँच सुनिश्चित गर्नुपर्ने विषय उठाइएको छ। आफ्नै भूउपग्रह सञ्चालन नगर्ने देशले पनि यस्तो प्रविधिबाट लाभ लिन पाउनुपर्ने नेपालको धारणा छ।
मन्त्री श्रेष्ठले अन्तरिक्षमा आधारित सूचनालाई व्यावहारिक निर्णय र सर्वसाधारणले उपयोग गर्न सक्ने सेवामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया