एभरेष्ट पेपर मिल्स प्रालिका १७४ जना श्रमिकले लामो कानुनी तथा प्रशासनिक प्रक्रियापछि बक्यौता सेवा सुविधा र पारिश्रमिकबापत कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा प्राप्त गरेका छन्। श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिअनुसार असोज ३० गते विभिन्न चेकमार्फत रकम भुक्तानी गरिएको हो।
उद्योग प्रशासनसँग विवाद भएपछि श्रमिकहरूले आफूले पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिकका लागि कानुनी प्रक्रिया अघि बढाएका थिए। श्रम अदालतले २०८२ चैत १७ गते ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा भुक्तानी गर्न बैंक खाता फुकुवा गर्ने आदेश दिएको थियो। तर, खाता फुकुवा भए पनि रकम भुक्तानी नभएपछि श्रमिकहरूले अदालतको अवहेलना भएको भन्दै पुनः निवेदन दिएका थिए।
अदालतको निर्णय कार्यान्वयन नभएको विषयमा पुनः निवेदन परेपछि २०८३ भदौ २६ गते कम्पनीका सेयरधनीहरूको बैंक खाता, सम्पत्ति तथा सेयरसमेत रोक्का गरिएको थियो।
त्यसपछि असोज ३० गते श्रम अदालतको आदेशअनुसार ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा र भदौ तथा असोज महिनाको तलबसमेत गरी कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा श्रमिकलाई भुक्तानी गरिएको हो। भुक्तानीसँगै लामो समयदेखि रोकिएको रकमसम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन भएको छ।

प्रतिकृया