बजारको चिरफार Evening Walk – आज सेयरबजारमा केके भयो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १० गते
Advertisement Ads
बजारको चिरफार Evening Walk – आज सेयरबजारमा केके भयो ?
Advertisement Ads

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।

आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।

Advertisement Ads



आज सेयरबजारमा के भयो?

कार्तिक १० गते मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २,६३०.७६ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३.१ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १३५ कम्पनीको सेयर मूल्य बढेको, १३६ कम्पनीको सेयर मूल्य घटेको र ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।



अप्पर लोहोरे खोला हाइड्रोपावरका दुई आधारभूत सेयरधनीले बेच्दैछन् सेयर, कसले कति कित्ता ?

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार विन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आगामी तीन महिनाभित्र जनही १ लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका छन्।

नियामकीय व्यवस्थाअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ।



स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको कात्तिक १० गते सोमबार बसेको सञ्चालक समितिको ४९४औँ बैठकले करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार सेयरधनीले प्रतिकित्ता १६ रुपैयाँ नगद लाभांश पाउनेछन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ। सोही बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसमेत स्वीकृत गरेको बैंकले जनाएको छ।



सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन?

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी कृष्णबहादुर थापाले आफ्नो नाममा रहेको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।

संस्थाले सूचना जारी गर्दै उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा लिखित जानकारी गराउनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न कुनै लिखित जानकारी प्राप्त नभएमा बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।



भोलिदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर, क-कसले भर्न पाउने ?

हिम पर्वत हाइड्रोपावर लिमिटेडले भोलि कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गर्नेछ। यसमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७६ हजार कित्ता ती गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाले आवेदन दिन पाउनेछन्।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ। यसमा सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।

कति कित्ताका लागि आवेदन दिन पाइन्छ?

दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आवेदन दिने छिटो मिति कात्तिक २५ गते र ढिलो मिति मंसिर १० गते तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कहाँबाट दिने आवेदन?

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्। दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।



दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज कात्तिक १० गते अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने भएका छन्। त्यसैले आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

मञ्जुश्री फाइनान्सले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको १९औँ वार्षिक साधारण सभा कात्तिक २० गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बस्नेछ।

त्यस्तै, बरुण हाइड्रोपावरले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको २३औँ वार्षिक साधारण सभा कात्तिक २० गते बिहान साढे ९ बजे काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बस्नेछ।



आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।

भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स