सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो।
कुल निष्काशनमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई योजना प्रवर्द्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा मंसिर ७ गते बन्द हुनेछ। उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि मंसिर १६ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ।
सिटिजन्स सुपर ५० एक बन्दमुखी योजना हो। यसको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने योजना अवधि १० वर्षको हुनेछ।
योजनाअन्तर्गत न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने क्यापिटलले जनाएको छ।
यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया