मोरङमा १ अर्ब रुपैयाँको लगानीमा केरौन सबस्टेसन निर्माण सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १२ गते
Advertisement Ads
मोरङमा १ अर्ब रुपैयाँको लगानीमा केरौन सबस्टेसन निर्माण सम्पन्न
Advertisement Ads

मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ। मोरङ तथा आसपासका क्षेत्रमा विद्युत्को माग सम्बोधन गर्दै आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन निर्माण गरिएको सबस्टेसनलाई कात्तिक १४ र १५ गते चार्ज गर्ने तयारी गरिएको छ।

सबस्टेसनलाई प्रसारण प्रणालीमा जोड्न पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा लुप इन र लुप आउटको काम गरिनेछ। त्यसका लागि शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुहवी–दमक १३२ केभी प्रसारण लाइन बन्द गरिनेछ।

उक्त समयमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा तथा मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ।

सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा र ३३/११ केभी, २२.५ एमभिए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ।

हाल उक्त क्षेत्रमा करिब ५० किलोमिटर लामो दुहवी–रानी–रङ्गेली ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो। केरौन सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति हुने लाइनको लम्बाइ घट्ने र यसबाट आपूर्तिमा सुधार आउने अपेक्षा गरिएको छ।

Advertisement Ads

सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएका छन्। त्यस्तै, केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट लाइनसमेत निर्माण गरिएको छ।

आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स