रसुवामा आएको बाढीका कारण देशका विभिन्न मुख्य सडक खण्डका पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सडक विभागको पछिल्लो तथ्याङ्कअनुसार बाढीले विभिन्न जिल्लाका ३२ वटा पुल पूर्णरूपमा बगाएको छ।
विभागका अनुसार थप ३ वटा पुलमा आंशिक क्षति पुगेको छ भने ६ वटा पुल उच्च जोखिमका बीच सुरक्षित रहेका छन्। बाढीबाट सबैभन्दा धेरै क्षति रसुवा, नुवाकोट र धादिङका पुलमा भएको छ।
रसुवामा १३ पुल ध्वस्त
रसुवामा मात्रै साना–ठूला गरी १३ वटा पुल पूर्णरूपमा बगेका छन्। बाढीबाट मितेरी पुल (रसुवागढी), टिमुरे पुल १ र २, भोटेकोशी पुल (चिलिमे), चिलिमे खोला पुल तथा भोटेकोशी र स्याफ्रुबेँसी क्षेत्रका बेलिब्रिजमा क्षति पुगेको छ।
त्यस्तै, स्याफ्रुबेँसी पुल तथा त्रिशूली र मैलुङ क्षेत्रमा रहेका पाँच वटा विभिन्न पुलसमेत बाढीले बगाएको छ।
नुवाकोटमा १४ पुल बगे
नुवाकोटमा बाढीले १४ वटा पुल पूर्णरूपमा ध्वस्त बनाएको छ। बेत्रावतीदेखि देवीघाटसम्मका विभिन्न पुलमा ठूलो क्षति पुगेको छ।
बेत्रावतीका पुरानो र नयाँ पुल, त्रिशूली नदीको तुप्चेस्थित पुल, त्रिशूली बजारका पुरानो र नयाँ गरी दुई पुल तथा सिमचौर पुल बगेका छन्।
त्यस्तै, देवीघाटस्थित जलस्रोत तथा सिँचाइ डिभिजन नजिकको पुल, मध्यपहाडी राजमार्गको पुल, ताँदी खोलाका दुई पुल तथा त्रिशूली नदीका श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटारका पुलहरू पनि बाढीबाट ध्वस्त भएका छन्।
धादिङमा ५ पुल ध्वस्त, ३ मा क्षति
धादिङमा ५ वटा पुल पूर्णरूपमा ध्वस्त भएका छन् भने ३ वटा पुलमा क्षति पुगेको छ।
स्याल्टार सडक पुल, घाटबेँसी पुल, फुर्के खोला पुल (मलेखु) तथा कोल्पु खोलाका दुई पुल बाढीले बगाएको छ। मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुलमा भने क्षति पुगेको विभागले जनाएको छ।
यसैबीच, धादिङ र चितवन खण्डका केही पुल भने बाढीबाट सुरक्षित रहेका छन्। गल्छी नजिकको भिमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनका पुल बाढीबाट जोगिएका छन्।



प्रतिकृया