राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि विभिन्न स्थान र विमानस्थलको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने यथावत् रहेको भन्दै प्रश्न उठाएका हुन्।
नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न गरे। उनले नाम परिवर्तनसँगै सिंहदरबारको कार्यशैली, हाउभाउ र भाषामा समेत परिवर्तन आवश्यक रहेको बताए।
ढकालले भने, ‘परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ नाम परिवर्तन भए । त्यो सिंहदरबार भन्ने चाहिँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला, त्यो परिवर्तनपछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा । हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ । त्यो चिर्नुपर्नेछ । मैले यो मुहानका विषयमा यति कुरा राखेँ ।’
सांसद ढकालले प्रशासनिक केन्द्रको नाम परिवर्तन मात्रै पर्याप्त नहुने भन्दै त्यहाँको कार्यशैली र पुरानो प्रवृत्तिमा समेत सुधार आवश्यक रहेको बताए।
उनले सरकारको प्रशासनिक ‘मुहान’ मै सुधार गर्नुपर्ने र परम्परागत सोच तथा भाष्यलाई चिर्नुपर्नेमा जोड दिए।
प्रतिकृया