प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानमा सुधारका प्रयासबाट सकारात्मक परिणाम देखिन थालेको बताएका छन्।
प्रधानमन्त्री बालेनले फेसबुकमार्फत राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सरकारले सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनको भनाइ छ।
उनले नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको र गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उल्लेख गरेका छन्। कम्पनीले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा नेपाल औषधि लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा रहेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको उनले बताएका छन्। परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने योजना रहेको छ।
नेपाल वायुसेवा निगमको आम्दानीमा पनि सुधार आएको प्रधानमन्त्रीको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको र यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। सो अवधिमा निगमको सीट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको तथा जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको उनले उल्लेख गरेका छन्।
दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको पनि प्रधानमन्त्रीले बताएका छन्। ७२ करोड रुपैयाँ रहेको भुक्तानी चक्रको रकम अहिले ३५ करोड रुपैयाँमा झारिएको र किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको उनले उल्लेख गरेका छन्।
सुधारका प्रयासपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको बालेनले बताएका छन्। कानुनविपरीत कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गर्दा वार्षिक करिब ३ करोड रुपैयाँ बचत भएको उनको भनाइ छ। खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यातको तयारी भइरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्न लागिएको पनि उनले उल्लेख गरेका छन्।
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएयता ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको प्रधानमन्त्रीले बताएका छन्। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको दाबी छ।
हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ। निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढेको र चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताएका छन्। साथै, पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने र जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री बालेनले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्।
प्रतिकृया