शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ८२.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
विशेषगरी बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुनुका साथै खराब कर्जाबापत छुट्याउनुपर्ने रकम (इम्पेयरमेन्ट चार्ज) मा उल्लेख्य कमी आएको कारण बैंकको खुद नाफामा यसरी आकर्षक वृद्धि भएको हो।
चौथो त्रैमाससम्ममा शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी ६.९० प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.३९ प्रतिशतले बढेर ३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यता, कर्जा जोखिम व्यवस्थापनको लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ९५ करोड रुपैयाँबाट ७८.१२ प्रतिशतले घटेर २१ करोड रुपैयाँमा आएको छ। इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको सञ्चालन नाफा ९०.७४ प्रतिशतले वृद्धि भई १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात (NPL) भने ०.६६ प्रतिशतबिन्दुले बढेर ४.९३ प्रतिशत पुगेको छ। खराब कर्जा ५ प्रतिशतको नजिक पुग्नुले बैंकले कर्जा असुलीमा थप कडाइ गर्नुपर्ने अवस्थालाई संकेत गर्दछ।
समीक्षा अवधिमा बैंकले ग्राहकहरूबाट ७७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन ८.४८ प्रतिशत र कर्जा प्रवाह ११.१८ प्रतिशतले बढेको हो। बैंकको कर्जा-निक्षेप अनुपात (CD Ratio) ८४.१८ प्रतिशत रहेको छ, जसले बैंकसँग थप कर्जा लगानी गर्न सक्ने सहज क्षमता रहेको बुझाउँछ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ भने सेयरधनीलाई लाभांश बाँड्न मिल्ने वितरणयोग्य नाफा ८५ करोड रुपैयाँ रहेको छ। यसैगरी, बैंकको जगेडा कोष (रिजर्भ) मा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) पनि १०.२८ रुपैयाँले बढेर २३.५२ रुपैयाँ पुगेको छ। लगानीकर्ताले वास्तविक रुपमा पाउने लाभांश क्षमता देखाउने वितरणयोग्य प्रतिसेयर आम्दानी १६.८६ रुपैयाँ रहेको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात (P/E Ratio) १७.६४ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

एनएमबि बैंकको नाफामा आकर्षक वृद्धि, तर खराब कर्जा र वितरणयोग्य नाफाले चुनौती थप्दै
प्रतिकृया