ग्यासको कालोबजारी रोक्न उपत्यकाका हुँदैछ यसरी अनुगमन

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २४ गते
ग्यासको कालोबजारी रोक्न उपत्यकाका हुँदैछ यसरी अनुगमन
AdvertisementAds

खाना पकाउने एलपीजी ग्यासमा कालोबजारी भइरहेको गुनासो बढेपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि डिपोमा निगरानी तथा अनुगमन सुरु गरिएको हो।

भारतबाट ग्यास आयातमा समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले विषयमा चासो लिएकी थिइन्।

आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा तोकिएकोभन्दा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेकी थिइन्।

सोही आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए। त्यसअनुसार उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाएर निगरानी बढाइएको हो।

ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ।

AdvertisementAds

उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।

सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई थप कडाइ गर्ने तयारीसमेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स