आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।
आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।
आज सेयरबजारमा के भयो?
असोज २० गते मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २,५७८.७३ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँ ३२ पैसा बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको, ९५ कम्पनीको सेयर मूल्य घटेको र १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी
ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।
रेग्मी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए भने सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
दोस्रो बजारका सेयरमा १५ दिने सूचना हटाउन सेबोन सकारात्मक
आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिनअघि सूचना दिनुपर्ने व्यवस्थामा परिवर्तन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सकारात्मक देखिएको छ।
लगानीकर्तासँग करिब तीन घण्टा भएको छलफलमा हालको व्यवस्थालाई थप व्यावहारिक बनाउने विषयमा आवश्यक छलफल गरेर अघि बढ्न सेबोन तयार रहेको सहभागीहरूले बताएका छन्।
छलफलमा विशेषगरी दोस्रो बजारबाट खरिद गरिएको सेयर बिक्री गर्दा पनि १५ दिनअघि सूचना दिनुपर्ने व्यवस्थाबारे प्रश्न उठेको थियो। छलफलमा सहभागी लगानीकर्ताहरूले दोस्रो बजारबाट खरिद गरिएको सेयर बिक्री गर्दा सूचना दिनुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका थिए। त्यस्तै, हालको व्यवस्थाअनुसार हाइड्रोपावरलगायत अन्य क्षेत्रका कम्पनीको ३ वर्षे प्रमोटर लकइन अवधि खुलेपछि बजारमा बिक्रीका लागि आउने सेयरका लागि ‘अफर फर सेल’ बजार सञ्चालन गर्नुपर्ने र त्यसका लागि छुट्टै विन्डोको व्यवस्था गर्नुपर्ने मागसमेत लगानीकर्ताहरूले राखेका थिए।
लगानीकर्ता तिलक कोइरालाले १५ दिनको सूचना अवधि घटाएर ७ दिनमा ल्याउनुपर्ने तथा ठूलो परिमाणमा सेयर खरिद–बिक्रीका लागि छुट्टै ‘बल्क’ कारोबारको व्यवस्था गर्नुपर्ने प्रस्ताव आफूले राखेको बताए। ‘अफर फर सेल’ र बल्क कारोबारका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिने विषयमा समेत सुझाव दिएको उनले बताए।
आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्नुपरेमा दोस्रो बजारमै ठूलो आपूर्ति सिर्जना गर्नुको सट्टा बल्क कारोबारका लागि छुट्टै विन्डो उपलब्ध गराउन सकिने र यसबाट ठूलो परिमाणको कारोबारलाई व्यवस्थित गर्न सकिने उनको भनाइ छ।
लगानीकर्ता एसपी चौलागाईंले आधारभूत सेयरधनीको विवरण सार्वजनिक हुने गरी छुट्टै पोर्टल बनाउनुपर्ने प्रस्ताव गरिएको बताए। उक्त पोर्टलमा प्रत्येक कम्पनीका आधारभूत सेयरधनीको नाम र उनीहरूसँग रहेको सेयर कित्ता नियमित रूपमा अद्यावधिक गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको उनले बताए।
त्यस्तै, सेयर बिक्रीका लागि मात्र १५ दिने सूचना दिनुपर्ने तर खरिदका लागि त्यस्तो व्यवस्था नहुने अवस्था समान हुन नसक्ने भन्दै ठूलो परिमाणमा सेयर खरिद गर्न चाहने लगानीकर्ताका लागि पनि व्यवस्थित सूचना तथा कारोबारको व्यवस्था हुनुपर्ने विषय उठाइएको थियो।
चौलागाईंका अनुसार छलफलमा मार्जिन ट्रेडिङ, बुक क्लोजपछि मूल्य समायोजन तथा बोनस र हकप्रद सेयरसम्बन्धी केही अन्य विषयमा समेत लगानीकर्ताले धारणा राखेका थिए।
असोज २९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक, कति पाइन्छ ब्याजदर ?
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘आरबीबीएल डिबेन्चर–२०८९’ ऋणपत्र असोज २९ गतेदेखि निष्काशन गर्ने भएको छ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। त्यसमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने १२ लाख इकाइ सार्वजनिक निष्काशन हुनेछ।
सार्वजनिक निष्काशनतर्फको १२ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।
ऋणपत्र खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
ऋणपत्रको निष्काशन छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते बैंकिङ समयपछि बन्द हुनेछ।
यो ७ वर्ष अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
लाभांश पारित गर्न गुराँस लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको १६९औँ बैठकले उक्त प्रस्ताव गरेको हो। बोनस सेयरको रकम १ करोड २५ लाख ७४ हजार ११ रुपैयाँ ११ पैसा र नगद लाभांश ६ लाख ६१ हजार ७९० रुपैयाँ २७ पैसा रहेको छ।
कम्पनीको ११औँ वार्षिक साधारण सभा कात्तिक १० गते धनकुटाको हिलेस्थित कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे बस्नेछ।
सभा तथा लाभांश प्रयोजनका लागि असोज २८ गते बुक क्लोज हुनेछ। असोज २७ गतेसम्म सेयर कारोबार भई नामसारी भएका सेयरधनीले सभामा सहभागी हुन पाउनेछन्।
सिक्लेस हाइड्रोपावरले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद?
सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १२.७०६ प्रतिशत बोनस सेयर र ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको २०८३ असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। उक्त बोनस सेयरको कुल मूल्य १२ करोड ४२ लाख १ हजार २७७ रुपैयाँ रहेको छ।
त्यस्तै, चुक्ता पुँजीको ०.६६९ प्रतिशत अर्थात् ६५ लाख ३६ हजार ९०९ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ। उक्त नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिनेछ।
Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]
क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष तथा प्राविधिक विश्लेषक अतितलाल श्रेष्ठले नेपालको सेयर बजारमा आगामी दिनमा राम्रो र्याली आउने सम्भावना रहेको बताएका छन्। पछिल्लो समय सरकारका पुँजी बजारसम्बन्धी नीति, घट्दो ब्याजदर, मार्जिन लेन्डिङको विस्तार र नियामकीय सुधारले बजारमा नयाँ माग सिर्जना गर्ने आधार तयार भइरहेको उनको भनाइ छ।
लामो समयदेखि बजार साइडवेजमा रहेकाले छोटो अवधिको उतारचढावलाई मात्र आधार बनाएर बजारको दीर्घकालीन दिशाबारे निष्कर्ष निकाल्न हतार गर्न नहुने श्रेष्ठले बताए।
हिजोका समाचार छुटाउनुभयो कि?
आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।
भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।
धन्यवाद।

प्रतिकृया