उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको विषय रहेको बताएका छन्।
सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा असर परेको भन्दै नेपालले ऊर्जा र कृषिमा आत्मनिर्भर बन्ने नीति अघि बढाउनुपर्ने बताए।
युक्रेन–रुस तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको उल्लेख गर्दै उनले परम्परागत इन्धनको विकल्प खोज्ने समय आएको बताए। रुस–युक्रेन तथा इरान–अमेरिका द्वन्द्वका कारण विश्व बजारमा इन्धनको मूल्य र आपूर्तिमा देखिएको अस्थिरताको असर नेपालजस्तो मुलुकमा गम्भीर रूपमा पर्ने उनको भनाइ छ।
आपूर्ति व्यवस्थालाई सहज बनाउन सञ्चारमाध्यमले पनि नागरिकलाई स्वदेशी स्रोतको प्रयोगतर्फ उत्प्रेरित गर्नुपर्ने उनले बताए। कृषि उत्पादनमा जोड दिँदै पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गर्नुपर्नेमा पनि उनले जोड दिए।
उनले भने, ‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन। त्यसैले बाह्य निर्भरतामात्र बढाउनेभन्दा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्छ। ब्रिकेट, विद्युत तथा अन्य स्वदेशी ऊर्जाको प्रयोग बढाउन सकिन्छ। त्यसैगरी, आयातित चामलमा निर्भर हुनुको सट्टा स्थानीय स्तरमा मकै, फापर, कोदो, सिमी लगायतका कृषि उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ।’
जनतालाई ‘के मात्रै गर्न सकिन्छ’ भन्ने सोचबाट माथि उठाएर स्वदेशी उत्पादन र ऊर्जा प्रयोगबाटै दिगो समाधान खोज्ने भाष्य निर्माण गर्नुपर्ने मन्त्री साहले बताए।
सांसदहरूले ग्यास आपूर्तिसम्बन्धी प्रश्न उठाएपछि उनले भू–राजनीतिक परिस्थितिका कारण बाह्य वस्तुमाथिको निर्भरता घटाउनुपर्नेमा पुनः जोड दिए।

प्रतिकृया